बुटवल, ११ माघ । पाँच नम्बर प्रदेशका प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभा अविलम्ब बोलाउने तयारी भईरहेको बताउनु भएको छ ।
बिहिबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकार सम्मेलन गरि उहाँले राजनीतिक दल, जनप्रतिनीधि तथा कानुविज्ञहरुसंग परामर्श भईरहेको बताउँदै संवैधानिक व्यबस्था अनुसार नै प्रदेश सभा बोलाउने तयारी गरेको जानकारी गराउनु भएको हो । यद्यपी उहाँले मिति भने खुलाउनु भएको छैन ।
संवैधानिक व्यबस्था अनुसार स्थानीय तह, प्रदेश तथा प्रतिनीधि सभाको निर्वाचन सम्पन्न भईसकेको र राष्ट्रिय सभाको निर्वाचनको प्रकृया अंगाडी बढीसकेकाले निर्धारित मिति यहि माघ २४ गते निर्विघ्न राष्ट्रिय सभा निर्वाचन सम्पन्न हुने र मुलुकको राजनीति सहज रुपमा अंगाडी बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पत्रकारहरुसंग परिचय गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश प्रमुख झाले निर्वाचन मत परिणाम सार्वजनिक भएको २० दिन भित्र प्रदेश सभा आह्वान गर्नुपर्ने र ३० दिन भित्रै प्रदेश सरकार बनाईसक्नुपर्ने संवैधानिक व्यबस्था अनुसार नै आफू अंगाडी बढेको जानकारी गराउनु भयो ।
यहि माघ ६ गते प्रदेश प्रमुखको रुपमा सपथ लिनुभएका प्रदेश प्रमुख झाले ७ गते प्रदेश सभाका सदस्यहरुलाई सपथ गराउनु भएको थियो भने त्यस यता नेपालको संविधानको धारा १६८ बमोजिम प्रदेश मन्त्रीपरिषद गठन तथा धारा १८३ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्न राजनीतिक दल, कानुन विज्ञ तथा विषय विज्ञसंग परामर्श गर्ने काम गर्दै आउनु भएको प्रदेश प्रमुखको कार्यालयका कार्यालय सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो ।
नयाँ संरचना अनुसारको संघीय व्यबस्था अनुसार गठन हुन लागेको प्रदेश सरकारका मन्त्रालयहरु तथा मन्त्रिहरुको आवासकालागि उपर्युक्त वैकल्पिक व्यबस्थाको तयारी पनि भईरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो ।