
बुटवल, १७ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सभा सदस्य गगनकुमार थापाले नेकपा एमाले प्राईभेट कम्पनी भएकाले उसको नेतृत्वमा समृद्धिको अपेक्षा गर्नु भ्रम हुने बताउनु भएको छ । नागरिकको आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्यलाई नीजिकरण गर्ने एमाले प्रकृत्तिले कहिल्यै पनि मुलुकमा समृद्धि आउन नसक्ने उहाँले ठोकुवा गर्नुभयो ।
नागरिकको आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्यलाई सरकारले सञ्चालन गर्नुपर्ने र उद्योगधन्दा कलकारखाना नीजिकरण हुनु पर्ने भन्दै एमाले ठिक यसको विपक्षमा रहेको बताउनु भयो । आधारभूत आवश्यकता शिक्षा र स्वास्थ्य पार्टीले सञ्चालन गर्ने र उद्योग धन्दा सरकारले सञ्चालन गर्ने काम राम्रो होईन, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहनु भएका नेता थापाले स्वास्थ्य शिक्षण संस्थालाई एमालेले पार्टीको कब्जामा राख्न खोजेको आरोप लगाउनु भयो ।
त्यस्तै उहाँले आफ्नै पार्टीका पुराना नेतालाई युग पुरुष भएर बस्न समेत सुझाव दिनुभएको छ । पुराना नेताका कारण मुलुकमा ठूलो परिवर्तन भएको र उक्त परिवर्तन संस्थागत पनि भईसकेकाले पार्टीमा युग पुरुष भएर बस्न र नयाँ युगका व्यक्तिहरुलाई अवसर दिन उहाँले आग्रह गर्नुभयो । ‘पुराना नेताहरुले देशलाई धेरै ठूलो योगदान दिनुभएको छ, अव नेपालमा नयाँ युग सुरु भयो, पुरानो युगका मान्छेले नयाँ युगमा पनि नेतृत्व गर्छु भन्नु राम्रो होईन ।’ उहाँले भन्नुभयो–‘त्यसकालागि अव तत्काल महाधिवेशनमा जानुपर्छ ।’
पार्टीको विधान अव संघीय संरचना अनुसारको बनाउनु पर्ने पनि उहाँले उल्लेख गर्नुभयो । संघीय तथा प्रदेश सभा निर्वाचनमा पार्टीले नराम्रोसंग पराजय व्यहोर्नु परेको बताउँदै नेता थापाले गठबन्धन गरि संयुक्त सरकारमा रहेको माओवादी केन्द्रलाई संगै लैजान नसक्नु नेतृत्वको रणनैतिक विफलता भएको आरोप लगाउनु भयो ।
त्यस्तै उहाँले पार्टी भित्र अन्तरघात संस्कारका रुपमा बिकास भएको बताउँदै टिकट बाँडफाँडमा भएको कमजोरीले पनि पार्टीले हार्नुपरेको दावी गर्नुभयो । ‘संघीय तथा प्रदेश सभामा कहीँ पनि काँग्रेसको सरकार बन्दैन, नराम्रो संग हारेका छौं ।’ नेता थापाले भन्नुभयो–‘बृहत समिक्षा हुन आवश्यक छ ।’
उहाँले दोस्रो संविधान सभामा पनि काँग्रेसले सरकारको नेतृत्व नपाएको भए संविधान पनि नबन्ने र सोही आधारमा स्थानीय तह तथा प्रदेश र संघीय सभाको निर्वाचन पनि सम्भव नभएको दावी गर्नुभयो । काँग्रेसको मध्यमार्गी स्वभावका कारण संविधान जारी भएपछि त्यसको बिरोधमा सडकमा रहेका मधेशवादी दललाई सदनमा ल्याउने र स्थानीय तहको निर्वाचनमा सहभागि गराउन सफल भएको जिकिर गर्नुभयो ।
अहिले एमाले र माओवादीले जनताको बहुदलीय जनवाद या २१ औं सताव्दिको नौलो जनवाद जे भने पनि नेपाली काँग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादकै मार्गमा रहेको उहाँले दावी गर्नुभयो ।
नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय नेताहरुले पार्टीमा गुट हावी हुँदा पार्टी कमजोर हुँदै गएको भन्दै त्यसकालागि केन्द्रीय नेताहरुले वेलैमा सोंच्नुपर्ने बताएका थिए ।