काउन बुटवलको साधारण सभा सम्पन्न

478

काउन बुटवलको साधारण सभा सम्पन्न

बुटवल, माघ । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) बुटवल इकाईको सातौ साधारण सभा तथा वार्षिक परिषद बैठक बिहिबार बुटवलमा सम्पन्न भएको छ ।

साधारण सभा परिषद बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै इकाई अध्यक्ष सुर्यदेव दासले निर्माण क्षेत्रमा काम गर्ने मजदुरको हकाधिकार तथा उनीहरुको सुरक्षाकालागि संघले काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश चौधरीले ठेकदार र मजदुरको सम्बन्ध नङ् र मासुको हुनु पर्ने बताउँदै नङ् मासुको सम्बधले मात्रै व्यबसायिक सुद्धता हुने तथा काममा गुणस्तर बृद्धि हुने बताउनु भयो ।

त्यस अवसरमा ठेक्कापट्टाबाट अवकास लिएका कन्ट्रयाक्ट लिडर धनबहादुर दर्लामीलाई सम्मान सहित विदाई गरिएको छ । उहाँलाई २५ हजार रुपैंया नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यस्तै सदस्यता विस्तारमा उत्कृष्ट काम गरेवापत हिराबहादुर थापा, सोमबहादुर थापा र दधिराम थारुलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैंया नगद प्रोत्साहन पुरस्कार सहित प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष सुर्यदेव दासले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ रुपन्देहीका अध्यक्ष बिरबहादुर लामा, नयाँगाउँ इकाईका गंगाराम सुनार, बुटवल इकाई उपाध्यक्ष भागमती चौधरी लगायतले भनाई राखेका थिए । साधारण सभामा सचिव तिलबहादुर हिस्कीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णप्रसाद भुसालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।