पाँच नम्बर प्रदेशको स्थायी राजधानी बुटवल नै हो : पौडेल

393

पाँच नम्बर प्रदेशको स्थायी राजधानी बुटवल नै हो : पौडेल

बुटवल, २८ माघ । नेकपा एमालेका उपमहासचिव तथा संघीय संसदका सदस्य विष्णु पौडेलले पाँच नम्बर प्रदेशको स्थायी राजधानी पनि बुटवल नै हुने बताउनु भएको छ । काँग्रेस नेतृत्वको सरकारले अस्थायी मुकाम रुपन्देहीको बुटवल तोकेर सोही अनुसार संवैधानिक प्रकृयाका कामहरु भईरहँदा नयाँ बन्ने सरकारले के गर्दा भन्ने जिज्ञासाका विच उहाँले अव बन्ने सरकारले पनि बुटवललाई नै पाँच नम्बर प्रदेशको स्थायी केन्द्र बनाउने बताउनु भएको हो ।

उहाँले प्रदेशको केन्द्र बुटवल भएपनि समग्र प्रदेशलाई विकासको गतिमा अंगाडी बढाउन प्रतिवद्ध रहेको बताउनु भयो । पश्चिम नेपाल बस व्यबसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनको आईतबार बुटवलमा उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका एमाले नेता पौडेलले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका तथा आसपासका गाउँपालिकाहरुलाई समेटेर महानगरपालिका बनाउने बताउनु भयो । त्यस्तै दाङ उपत्यका, नेपालगञ्जमा छुट्छुट्टै महानगरपालिकाको अवधारणामा अंगाडी बढाउने उहाँले बताउनु भयो ।

पाँच नम्बर प्रदेशलाई सर्वाधिक बिकासको गतिमा अंगाडी बढाएर उच्च स्तरको समृद्धि हासिल गर्ने गरी काम गर्ने उहाँको भनाई थियो । उहाँले सामाजिक न्यायमा आधारित बिकास, समृद्धि र समतामुल समाज निर्माणमा अवको सरकारले काम गर्नुपर्ने समेत भनाई राख्नुभयो ।
यातायात व्यबसायिका व्यबसायिक समस्या र समाधानका उपायपनि व्यबसायीसगै हुने भएकाले नीतिगत सुधारकालागि उचित निर्णय गर्न र कार्यान्वयनकालागि आफूले पहल गर्ने आश्वासन नेता पौडेलले दिनुभयो ।

कार्यक्रममा संघीय संसदका सदस्य तथा नेपाली काँग्रेसका नेता देवेन्द्रराज कंडेलले मुलुकको बिकासको आधार यातायात भएपनि यातायात व्यबसाय अझै व्यबस्थित हुन नसकेकाले व्यबस्थित बनाउनु पर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष दधिराम खरेलले सरकारले गर्न नसकेको काम व्यबसायक संघले गरेको बताउँदै १ हजार ६ सय पुराना बसलाई विस्थापित गरि व्यबसायीलाई ६२ करोड लगानी गरेको जानकारी दिनुभयो । संघले पुरानो एउटा गाडी विस्थापित गर्दा ६ लाख रुपैंया व्यबसायीलाई प्रदान गर्ने उहाँले जानकारी गराउनु भयो ।

साधारण सभामा पत्रकार विष्णु घिमिरेलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने गत एसईई परिक्षामा उत्कृष्ट हुने विद्यार्थी, कुशल चालक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, महासचिव जीवन वञ्जाडे, नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतम लगायतले भनाई राखेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।