
बुटवल, फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले सहिद र वेपत्ता परिवारलाई अभिनन्दन गरेको छ । जनयुद्वको समयमा सहिद र वेपत्ता भएकाहरुका परिवारलाई आईतबार बुटवलमा अभिनन्दन गरिएको हो ।
२३ औं जनयुद्व दिवसको अवसरमा सहिद र वेपत्ता ६९ जनाको परिवारलाई नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्दले अभिनन्दन गर्नुभएको हो ।
सोही अभिनन्दन कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य चन्दले प्रचण्ड र बाबुरामका कारण सहिद तथा वेपत्ता परियारले पिडा भोग्नु परेको बताउनुभयो । सहिद र वेपत्ता परिवार देशको सम्पती भएको उल्लेख गर्दै उहांले जनयुद्व र सहिदहरुको अपमान गरेर प्रचण्ड बाबुराम प्रतिक्रान्तिको बाटोमा हिडेको आरोप लगाउनुभयो ।
सहिद र वेपत्ता परिवारको सपना पुरा गर्नुको विकल्प नभएको र त्यसका लागि वर्गिय संघर्ष आवश्यक रहेको बताउंदै उहांले पार्टीको मुख्य नेतृत्वले आत्मसमर्पण गरेकाले देशले निकास पाउन नसकेको र जनयुद्वको उद्वेश्य पनि पुरा नभएको बताउनुभयो । संसदिय व्यवस्था असफल भैसकेको दावी गर्दै उहांले संसदीय व्यवस्थाका कारण जनताले महंगी, चर्को कर र अपमान सहनु परेको बताउनुभयो ।
अमर आरसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी रुपन्देही इन्चार्ज शरद ओली, शिशिर लगायतले बोल्दै सहिद र वेपत्ता परिवार प्रति राज्यले खेलवाड गरेको उल्लेख गर्नुभयो । परिवर्तनका लागि ज्यान दिएका सहिद तथा वेपत्ता परिवारको सपना पुरा नहुंदासम्म देशले निकास पाउन नसक्ने बताउनुभयो ।