नाकाबन्दी खुकुलो पार्ने भारतको संकेत,सुनौलीबाट पनि पेट्रोलियम पदार्थ भित्रियो

459

नाकाबन्दी खुकुलो पार्ने भारतको संकेत,सुनौलीबाट पनि पेट्रोलियम पदार्थ भित्रियो

timthumbकाठमाडौं, कात्तिक २३ – भारतले सीमा नामा डेढ महिनादेखि गर्दै आएको अघोषित नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको छ । अन्तर्राष्ट्रिय समुदायले नाकाबन्दीको विषयमा चासो व्यक्त गरेपछि भारतले नाकाबन्दी खुकुलो पार्ने तयारी गरेको हो ।

भारतीय पक्षले नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार बेलुका बालुवाटारमा केही मन्त्री र सचिवहरुसँग गरेको छलफलमा भारतीय पक्षबाट नाकाबन्दी खुकुलो पार्ने संकेत आएको जानकारी दिनुभएको स्रोतले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले एक दुई दिनभित्रै नाकाबन्दी केही खुकुलो पार्ने जानकारी भारतीय पक्षबाट आएको बताउनुभएको थियो । भारतको विदेश मन्त्रालयले नै नाकाबन्दी केही खुकुलो बनाउने संकेत गरेको स्रोतको भनाई छ ।

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा भारतको नाकाबन्दीका कारण परेको समस्याबारे कुरा उठाएको तथा अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएपछि भारतीय पक्ष नाकाबन्दी खुकुलो बनाउने पक्षमा पुगेको हो । नेपालले गएको हप्ता संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्मेलनमा नाकाबन्दीबारे कुरा उठाएको थियो ।

भारतीय पक्षले नाकाबन्दी खुकुलो बनाउने संकेत गरेको भएपनि औपचारीक रुपमा नतिजा नआएसम्म ढुक्क हुनसक्ने अवस्था भने छैन । यसअघि पनि भारतले पटकपटक नाकाबन्दी खुकुलो पार्ने संकेत गरेको थियो ।

वीरगन्ज घटनापछि एक थोपो तेल नपठाएको भारतले आइतबार साँझ काँकडभिट्टा र रुपन्देहीको सुनौली नाकाबाट एकैपटक ४३ ट्याङ्कर इन्धन र दुई बुलेट अक्सिजन छाडिदिएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट साँझपख २३ ट्याङ्कर डिजेल, ८ ट्याङ्कर पेट्रोल, २ ट्याङ्कर मट्टितेल र एक ट्याङ्कर हवाई इन्धन भित्रिएको भन्सार कार्यालयले जनाएको छ । सुनौली नाकाबाट पेट्रोल ४, डिजेल ३, ग्यास र अक्सिजनका बुलेट २-२ पठाएको छ ।

वीरगन्जमा सिमा प्रहरी चौकी आक्रमणमा आएका प्रदर्शनकारीमाथि गोली चलाउँदा एक भारतीय युवकको मृत्यु भएको थियो ।

भारतीय युवक मारिएपछि सीमितमात्रामा भित्रिएका इन्धन पनि भारतले रोकेको थियो । काँकडभिट्टा सुनौलीबाहेकका भन्सारबाट भने आइतबार इन्धन भित्रिएन ।

मुख्य भन्सार नाका रक्सौल नखुलेसम्म काठमाडौंसहित देशभरको आपूर्ति सहज हुन सक्दैन ।