उद्योगको क्षमताको आधारमा कर निर्धारण गर्न ईटा उद्योगीको माग

739

उद्योगको क्षमताको आधारमा कर निर्धारण गर्न ईटा उद्योगीको माग

बुटवल,१ चैत । ईट्टा व्यवसायीको समस्या समाधानका लागि प्रदेश सरकारको ध्यान जान जरुरी रहेको सरोकारवालाले औल्याएका छन् । प्रदेश नं. ५ का ईट्टा उद्योग ब्यवसायीहरुको बुधवार बुटवलमा भएको प्रथम प्रदेश भेलामा ईट्टा व्यवसायीले राज्यको पुनःसंरचना र पूर्वाधार निर्माणमा पु¥याएको योगदानको कदर गदैं मुल्य अभिवृद्धि कर प्रणाली अविलम्व हटाई उद्योगको क्षमताको आधारमा कर निर्धारण गर्न माग गरेका हुन् ।

कार्यक्रमा नेपाल ईट्टा उद्योग ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष महेन्द्रबहादुर चित्रकारले नीतिगत समस्याले ईट्टा उद्योग ब्यवसायीहरु मारमा परेको बताउनु भयो । स्थानीय तहको सरकारले ईट्टा उद्योगलाई बन्द गर्ने षड्यन्त्र गरेको बताउदै राज्यको आधिकारिक निकायमा कानुनी रुपमा दर्ता भएको व्यवसाय बन्द गर्न खोजिए कडा आन्दोलन चर्काउने उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले नया प्रविधि भित्र्याएर उत्पादन लागत घटाउन सकिने सुझाव दिदै यसतर्फ उद्योगीहरुलाई सोंच्न सुझाव दिनुभयो । उहाँले उद्योग बाणिज्य संघ उद्योगी तथा व्यबसायीको साथमा रहेकाले हतास नहुन आग्रह गर्नुभयो ।

नेपााल ईट्टा उद्योग महासंघका महासचिव शंकरबहादुर चन्दले करोडौ रुपैयाँ लगानी भएको ईट्टा उद्योगको बीमाको व्यवस्था मिलाउनु सरकारसंग माग गर्नु भयो । नेपाल ईट्टा उद्योग महासंघका सचिव सफरमिया अन्सारीले मुलुकको संघीय संरचनासंग ईट्टा उद्योगहरुको समस्या समाधान हुनेमा आशाबादी रहेको बताउनु भयो ।

ब्यवसायीहरु बिचमा अस्वस्थ्य प्रतिस्प्रर्धाले गर्दा अरुलाई फाईदा मिलेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको उहाँको भनाई छ । महाकाली ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष बलदेव सिह बुडालले ईटा उद्योग केवल निर्वाहमुखी रुपमा मात्रै चलेको भन्दै यसलाई ब्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । सरकारले स्थानीय तहमा करलाई अनिवार्य बनाए ठुलो समस्या उत्पन्न हुने भन्दै उहाँले संस्थागत रुपमा समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

नेपाल ईट्टा उद्योग ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरले सरकारले व्यवसायीबाट राजस्वको नाममा मुल्य अभिबृद्रि कर लिने गरेकोमा अवदेखि भ्याटमा नभई फल्याट सिस्टममा राजश्व संकलन गर्ने व्यबस्था गर्न सरकारसंग आग्रह गर्नुभयो । छिमेकी मुलुकहरुमा पनि ईट्टा उद्योगबाट सरकारले फल्याट सिस्टममा राजस्व संकलन गर्ने गरेको उहाँको भनाई छ । त्यसले सरकार र उद्योगी दुबैलाई फाईदा पुग्ने उहाँले बताउनु भयो ।

भेलामा नेपाल ईट्टा उद्योग ब्यवसायी महासंघ केन्द्रीय सल्लाहकार चेतमान श्रेष्ठ, बर्दिया ईट्टा उद्योग ब्यवसायी संघका उपाध्यक्ष मनोजकुमार बर्मा, बाके ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष जैतुन खाँले प्रदेशस्तरमा उद्योग ब्यवसायीहरुको संगठन बनाएर अघि बढनु पर्नेमा जोड दिएका थिए । नेपाल ईट्टा उद्योग ब्यवसायी संघ रुपन्देही, नवलपरासी र कपिलबस्तुको संयुक्त आयोजनामा प्रथम भेला भएको हो । भेलाको सञ्चालन लुम्बिनी ईटा व्यबसायी संघ रुपन्देहीका उपाध्यक्ष अजय अधिकारीले गर्नुभएको थियो ।