
बुटवल, ३ चैत । व्यबस्थित बसोबास आयोग जिल्ला समिति रुपन्देहीले अव्यबस्थित बस्तिलाई व्यबस्थित गराउनकालागि स्थलगत निरिक्षण गरि छानिएका स्थानमा काम सुरु गर्न अनुमतिकालागि आयोगमा प्रतिवेदन पठाएको छ भने जिल्लामा आवश्यक तयारीका काम गरेको जनाएको छ ।
जिल्ला बसोबास व्यबस्थापन समितिले स्थलगत निरिक्षण गरि पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकालाई स्थान छनौट गरि काम गर्ने स्वीकृतिका लागि आयोगमा प्रतिवेदन बुझाएको र आयोगको स्वीकृति हुनासाथ काम सुरु गर्ने व्यबस्थित बसोबास आयोग जिल्ला समिति रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
पूर्ववर्ती सरकारले सुकुम्बासी समस्या समाधान गर्ने उद्देश्यले व्यबस्थित बसोबास आयोग २०७३ गठन गरि सुकुम्बासी समस्या बढी भएको जिल्लामा समिति गठन गरेको थियो । सोही अनुसार रुपन्देहीमा गठित समितिले आयोगको दर्फा ११ बमोजिम कार्यविधि अपनाई अव्यबस्थित रुपमा सरकारी सार्वजनिक, गुठी, ऐलानी, प्रति, सुकुम्बासी सडक अतिक्रमित बन जंगल, नदि उकास क्षेत्रमा उपभोग भएका जग्गाको स्थलगत निरिक्षण गरि जिल्ला बसोबास समितिमा प्रस्तुत गरेको थियो ।
जिल्ला बसोबास समितिमा सरकारले मनोनित गरेबाहेक जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला समन्वय अधिकारी, जिल्ला बन कार्यालय प्रमुख, सम्बन्धित क्षेत्रका मालपोत प्रमुख, नापी कार्यालय प्रमुख पदेश सदस्य रहने व्यबस्था छ । भने समितिमा अधिवक्ता कृष्णप्रसाद पोखरेल, प्रेमकुमारी चौधरी र निरजप्रताप खाँणलाई मनोनित गरिएको थियो ।
व्यबस्थित बसोबास आयोग जिल्ला समिति रुपन्देहीले पठाएको प्रतिवेदन जति चाँडो काम गर्ने अनुमति सहित स्वीकृति हुन्छ, त्यति चाडो जिल्लामा काम सुरु हुने पत्रकार सम्मेलनमा आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताउनु भयो । समितिले निरिक्षण गरि छानिएका स्थानहरुमा काम सुरु गर्नकालागि गत फागुन २१ गते प्रतिवेदन पठाईएको र सोही मितिमा जिल्लामा काम गर्न आवश्यक थप कर्मचारीहरु अमिन तथा कार्यालय सहायक नियुक्ति गरिसकिएको उहाँले जानकारी गराउनु भयो ।
त्यसबाहेक समितिले फिल्डमा जाँदा आवश्यक पर्ने अनुसूचि अनुसारका फारम तथा अन्य कागजातहरु तयारी अवस्थामा राखेको र आयोगबाट अनुमति प्राप्त हुनासाथ स्थानीय तहसंग समन्वय गरेर कर्मचारी खटाई लगत लिईने पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनु भयो ।
रुपन्देही जिल्लामा करिव ८० हजार जनसंख्या अव्यबस्थित बसोबास रहेको प्रारम्भिक अनुमान गरिएको र काम गर्ने स्वीकृति प्राप्त भएपछि मात्रै वास्तविक तथ्याङ्क प्राप्त हुने उल्लेख गर्दै उहाँले सबै पक्षको सहयोग प्राप्त भएको खण्डमा एक वर्ष भित्रमा जिल्लाको अव्यबस्थित बसोबासको समस्या समाधान गर्न सकिने उहाँले जानकारी गराउनु भयो ।