
बुटवल, १५ चैत । पाल्पालको तिनाउ गाउँपालिकामा बिहिबार भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । सोही दुर्घटनामा अन्य ४ जना घाईते भएका छन् ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु १ ख ९००५ नम्बरको टिप्पर सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने तिनाउ गाउँपालिका वडा नं. ३ भूतखोला नजिकै सडकबाट तल खस्दा टिप्परका सहचालक पाल्पाका १६ वर्षीय देवन्द्र लम्तरीको मृत्यु भएको हो । उनको पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
टिप्पर अनियन्त्रित भई सडकबाट करिव ३५ मिटर तल खसेको थियो । दुर्घटनामा परि टिप्परका चालक त्रिवेणी नवलपरासीका धनबहादुर गुरुङ् घाईते भएका छन् । त्यस्तै टिप्परमा सवार तिनाउ गाउँपालिका वडा नं. ३ की २३ वर्षीय तारा गाहा, ३० वर्षीय धनी गाहा र उनकी ३ वर्षीय छोरी घाईते भएका छन् । उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको र अवस्था मध्यम रहेको अस्पताललाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।