
बुटवल, चैत । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्राकृतिक सम्पदालाई अत्याधिक मात्रमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । देशको समग्र विकासका लागि प्राकृतिक सम्पदाहरुको उचित संरक्षण गरेर अत्याधिक रुपमा उपयोग गर्नुपर्ने मन्त्री गिरीले बताउनुभयो ।
शुक्रबार शँकरनगर सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गिरीले वन, खोलानालाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । देशको आर्थिक सम्वृद्वि हुनेगरी नयां नियम कानुन बनाएर प्रदेश सरकार अघि बढ्ने उहांले बताउनुभयो ।
उहांले कानुन बन्न नसकेकोले काममा ढिलाई भएको उल्लेख गर्दै संविधानलाई टेकेर नयां कानुन बनाएर सबै क्षेत्रलाई सम्बोधन गरिने बताउनुभयो । पुराना अधुरा कानुनहरुलाई संशोधन गरी नयां कानुन बनाउनुपर्ने र त्यसका लागि प्रदेश सरकार चनाखो भएर लाग्ने मन्त्री गिरीले बताउनुभयो । सामुदायिक वनका वरिष्ठ सल्लाहाकार समेत रहनुभएका मन्त्री गिरीले कानुनी राजमा कानुनको परिपालना गर्नु नागरिकको कर्तब्य र अधिकार हो भन्दै मन्त्री गिरीले कानुन मिचेर अगाडि बढ्ने छुट कसैलाई नभएको बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले संघीयताको अभ्यास नौलो भएकाले कानुनहरु बन्न बांकी रहेको बताउनुभयो । संघीयताको प्रयोगका लागि कानुन आवश्यक पर्ने बताउंदै न्यायाधीश केसीले कानुनको पालना गरेर वनको दीगो विकास र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख रोमनाथ लामिछानेले वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । वन क्षेत्रमा आफु खुशी गर्ने छुट कसैलाई पनि नभएको भन्दै सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा सामुदायिक वन र जिल्ला वन कार्यालयको समन्वयमा विस्तृत कार्ययोजना वनाएर मात्र गर्नुपर्ने बताउनुभयो । सामुदायिक वन भित्र निर्माण गर्ने भनिएको भ्यू टावर पनि वन कानुन र नियम संगत नभएको टिप्पणि गर्नुभयो ।
कार्यक्रममा ईलाका वन कार्यालय शंकरनगरका वन अधिकृत गिरिप्रसाद गैरे, शँकरनगर सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रविन्द्र वस्नेत लगायतले बोल्दै सामुदायिक वनको दीगो विकासका लागि सबैको सहभागिता आवश्यक पर्नेमा जोड दिनुभएको थियो । सामुदायिकवनका अध्यक्ष राम गिरीको अध्यक्षता र सचिव इन्दु थापा मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।