ओलीको उग्रराष्ट्रवाद भारत भ्रमणले प्रष्ट : काँग्रेस नेता सिंह

298

ओलीको उग्रराष्ट्रवाद भारत भ्रमणले प्रष्ट : काँग्रेस नेता सिंह

बुटवल, चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व महामन्त्री प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीहरुलाई प्रजातान्त्रिक पद्धतिमा हिडाउन पनि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताउनु भएको छ ।

नेपाल प्रेस यनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संबिधानको भावना र मर्म अनुरुप कम्युनिष्ट पार्टीहरुलाई हिडाउन पनि काँग्रेस बैचारिक र सांगठनिक रुपमा सशक्त हुनुपर्ने बताउनु भएको हो ।

उहाँले पार्टीलाई संघीय संरचनामा लैजान ढिलाई गर्न नहुनेमा जोड दिदैँ पार्टी बिधान संशोधन गर्न ढिला गर्न नहुने बताउनु भयो ।

पार्टी केन्द्रीय समिति बैठकमा गएका बिभिन्न निर्वाचनमा पार्टी हार्नुका कारण लिखित रुपमा पेश गर्नुभएका नेता सिंहले पार्टी सभापतिले बिधान अनुसार दुई महिनामा गठन गर्नुपर्ने बिभाग र पदाधिकारीहरुलाई पुर्णता दिन नसक्दा र सरकारमा नेतृत्व गर्दा कतिपय अलोकप्रिय काम गरेकाले पार्टीले निर्वाचनमा अपेक्षा अनुसार सफलता पाउन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले पार्टी पराजित भइसकेपछि अव पुरानै नेतृत्वबाट अघि बढ्नु भन्दा नयाँ नेतृत्वमा पार्टीलाई बैचारिक र सागंठनिक रुपमा अघि बढाउंदा उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–‘नेतृत्वमा रहने नेताले पार्टीले हारे राजिनामा दिने चलन छ, त्यही हो भन्ने मेरो भनाई हो ।’

पार्टी केन्द्रीय सदस्य सिंहले व्यक्ति बिशेष नभई पद्धति र प्रक्रियागत ढंगले पार्टीलाई अघि बढाउन आफुले नेतृत्वका बिरुद्धमा कुराहरु उठाउने गरेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षी दलको नाताले सरकारले गर्ने सबै कामको बिरोध नगरी गुण र दोषका आधारमा बिरोध र समर्थन गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले सबै प्रधानमन्त्रीका भारत भ्रमणलाई ऐतिहासिक भनिने गरिने उल्लेख गर्दै भएका समझदारीलाई कार्यान्वयनमा ल्याउन सके मात्रै ऐतिहासिक बन्ने बताउनु भयो । उहाँले एमाले अध्यक्ष समेत रहनु भएका प्रधामन्त्री केपी ओलीको उग्र राष्ट्रवाद प्रधामन्त्री भएपछिको पहिलो भारत भ्रमणबाटै प्रष्ट भएको बताउनु भयो ।