बुटवल, चैत । चैते वर्षाका कारण रुपन्देहीमा १० करोड रुपैंया बढीको ईटा गलेर नष्ट भएको छ । गत शुक्रबार परेको चैते वर्षाका कारण रुपन्देही जिल्लामा सञ्चालित ४९ ईटा उद्योगमा पोल्न तयार पारिएका २ करोड ५० लाख काँचो ईटा गलेर नष्ट भएको लुम्बिनी ईटा व्यबसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।
जसका कारण उद्योगीहरुले १० करोड भन्दा बढीको क्षेती व्यहोर्नु परेको उहाँको भनाई छ । वर्षाका कारण एउटा भट्टामा २ लाखदेखि १० लाख काँचो ईटा गलेर नोक्सान भएको बताईएको छ ।
काँचो ईटामा बिमा पनि नहुने हुँदा उक्त नोक्सान उद्योगी स्वयमले व्यहोर्नुपर्ने बताउँदै उद्योगीहरुले मुलुकको निर्माण क्षेत्रमा योगदान गरिरहेका ईटा उद्योगीलाई सरकारले संरक्षण गर्नु पर्ने बताएका छन् । मंसिरदेखि बैशाखसम्म ईटा उत्पादन हुने समय हो ।
त्यसपछि वर्षा सुरु हुने भएकाले वर्षा नसकिँदा सम्म करिव ६ महिना ईटा उद्योग बन्द हुन्छन् । वर्षाका कारण काँचो ईटा गलेर नष्ट हुँदा बजारमा ईटाको अभाव हुन सक्ने सम्भावना भएपनि अभाव हुन नदिनकालागि उद्योगीहरु लागिपरेको अध्यक्ष घिमिरेले बताउनु भयो ।