वैशाख, बुटवल । वुटवलमा सुरु भएको ६ लेन सडक विस्तारको काम एक हप्ताका लागि रोकिएको छ । बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र मिचेर बनेका घरहरु भत्काउने क्रममा स्थानीय राजनीतिक दल र उद्योगी–व्यवसायीले अवरोध गरेपछि विस्तारको काम एक हप्तासम्मका लागि स्थगित गरिएको हो ।
स्थानीय व्यापारी तथा उद्योगीहरुले आफै भत्काउने गरी एक हप्ताको समय मागेकाले यहि बैशाख ११ गतेसम्मकालागि म्याद थप गरिएको आयोजनाका ईञ्जिनियर गोविन्दकुमार श्रेष्ठले बताउनु भयो । यदि ११ गतेसम्म स्वेच्छिक रुपमा नभत्काए १२ गतेदेखि आयोजना आफैले भत्काउन सुरु गर्ने उहाँले बताउनु भयो ।
चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर क्षेत्रमा ३८४ घर सडक क्षेत्र मिचेर बनेका छन् । आयोजनाले यस अंगाडी नै ताकेता गरेपछि सडक क्षेत्राधिकारमा पर्ने गरी निर्माण गरिएका घर तथा भौतिक पूर्वाधार केही व्यक्तिले स्वेच्छिक रुपमा पनि भत्काईसकेका छन् ।
उक्त संरचना हटाउन आयोजनाले पटक पटक ताकेता गरेपनि सुनुवाइ नभएपछि बुटवल–बेलहिया व्यापारिक मार्ग बिस्तर आयोजनाले मंगलवार डोजर लगाएर सडक क्षेत्र खाली गराउन लागेको थियो । तर, स्थानीय राजनीतिक दल र उद्योगी–व्यवसायीले अवरोध गरेपछि काम रोकिएको हो ।
बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक क्षेत्र मिचेर बनेका घरहरु भत्काउने क्रममा स्थानीय राजनीतिक दल र उद्योगी–व्यवसायीले अवरोध गरेका हुन् ।सो सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर कालोपत्रे थपिने छ ।
दायाँ–बायाँ १–१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ । कुल ५० मिटर सडक क्षेत्र मध्ये विचमा डिभाइडर, दायाँ बायाँ साढे १०–साढे १० मिटर चौडाईको मुख्य लेन, त्यसबाहिर ६–६ मिटरको सर्भिस लेन हुने छ । बाँकी फुटपाथ र नाली हुने छ । ३० महिनामा सडक विस्तार सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।
सो सडक विस्तारको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ । बुटवल–बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०६८÷६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आर्थिक वर्ष २०७०÷७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।
व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३÷७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो । यो समेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने छ ।