बुटवल,२१ बैशाख । सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ परेको छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बन्जाडेलाई ट्राफिकचोकबाट र गाहालाई दीपनगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।प्रहरीले बुटवल यातायात व्यवसायी समितिका उपाध्यक्ष अशोककुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ ।
बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने लगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
२४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते विहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।