
बुटवल, ५ जेठ । प्रदेशको विकास र संवृद्धिमा आफ्नो भूमिका खोज्दै नागरिक समाजले बृहत प्रदेश सम्मेलन गरेको छ । सम्मेलनमा सहभागीले राज्यले द्वन्द्व समाधान र विपद् व्यवस्थापनमा मात्रै नागरिक समाज खोजेको भन्दै अब संवृद्धिको यात्रा र विकासको सहजीकरणमा पनि भूमिका दिन आग्रह गरेका थिए । गैर सरकारी सस्था महासंघ प्रदेश ५ आयोजक समितिले शनिबार आयोजना गरेको सम्मेलनमा प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधि सहभागी छन् ।
सम्मेलनमा प्रदेशको विकासका अवसर, सम्भावना र प्राथमिकताहरु, दिगो विकास लक्ष्य सम्बन्धी नीति संवाद, विपद् व्यवस्थापन चुनौती र सम्बोधन तथा गैर सरकारी संस्थाहरूको व्यवस्थापनका लागि प्रदेश तहमा कानूनी व्यवस्था सम्बन्धी विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले विकासमा नागरिक समाजको भूमिका र आवश्यकता दुवै हुने बताउनु भयो । उहाँले त्यस्तो काममा सुशासन र पारदर्शीतालाई पनि ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तै प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले प्रदेशका विकास र दिगो विकास लक्ष्यमा गैर सरकारी सस्थाको सहकार्य आवश्यक पर्ने बताउनु भयो । उहाँले राज्यको भार कम गर्न र विकासलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नागरिक समाज आवश्यक पर्ने बताउनु भयो ।
शनिबार देखि सुरु भएको सम्मेलनमा गैर सरकारी संस्थाको प्रदेश अधिवेशन सहित आज आईतबार बुटवल घोषणा पत्र जारी गरि समापन गरिने छ । गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक शोभाराम डागीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा सम्मेलन आयोजक समितिकी सहसंयोजक सुमित्रा शर्माको स्वागत तथा गैर सरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष एवं सम्मेलन तयारी समितिका संयोजक गोविन्द रेग्मीको सञ्चालनमा भएको थियो ।