
बुटवल, ८ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदीय प्रणालीबाट समाजवादको कल्पना निरर्थक प्रयास भएको बताउनु भएको छ । उहाँले संसदीय प्रणालीबाट सेवा सुविधामा मात्रात्मक परिवर्तन आएपनि समाजवाद आउन नसक्ने दावी गर्नुभयो । ‘संसदीय प्रणालीबाट समाजवादको कल्पनासम्म पनि गर्न सकिँदैन ।’ उहाँले भन्नुभयो–‘सेवा सुविधामा मात्रात्मक परिवर्तन आउला समाजवाद आउन सक्दैन ।’
एमाले–माओवादी केन्द्र एकता
रिपोटर्स क्लवले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष केसीले एमाले माओवादी केन्द्रको एकताले पनि मुलुकमा समाजवाद आउन नसक्ने दावी गर्नुभयो । २०४८ सालबाटै जनताको बहुदलीय जनवाद अंगालेको एमाले र २१ औं सताब्दीको जनवाद भनेको माओवादी केन्द्र दुबैको बाटो संसदीय प्रणाली नै भएकाले यो एकताले पनि समाजवाद स्थापना हुन नसक्ने उहाँले बताउनु भएको हो । संसदीय प्रणालीबाट समाजवाद ल्याउने भन्ने दुई दल मिलेपनि समाजवाद निरर्थक प्रयास भएको उहाँले टिप्पणी गर्नुभयो । बिचार सिद्धान्त सबै मिलेपछि पार्टी एकिकरण हुनु स्वाभाविक भएको बताउँदै यो एकतालाई शुभकामना भन्दा अरु भन्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘मिलेको राम्रो हो, मिल्दैनन् भनेर अहिले नै म अलच्छिना शब्द भन्दिन ।’
मोदीको नेपाल भ्रमण
फरक प्रसंगमा अध्यक्ष केसीले हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण संविधान संशोधनकालागि भएको टिप्पणी गर्नुभएको छ । उहाँले भारतले आफू अनुकुल हुनेगरी संविधान संशोधन गराउनकालागि तराईका सिमित मान्छेलाई प्रयोग गरिरहेको पनि दवी गर्नुभयो । यहाँका शासकले एक एक गर्दै नदि नालाहरु भारतलाई सुम्पिएको जिकिर गर्दै उहाँले यहाँका जलस्रोतजती भारतले होल्ड गरेर राखेको उल्लेख गर्नुभयो । ‘नेपालमा उत्पादन भएका सामान्य कृषिजन्य उपजहरु लसुन, अदुवा नकिन्ने भारतले बिद्युत किन्ने कुरै छैन ।’ उहाँले भन्नुभयो–‘यस्तै हो भने अव नेपालले भारतसंग बिद्युत किन्नुपर्छ ।’
मोदीको नेपाल भ्रमणलाई औचित्यहिन भ्रमणको संज्ञा दिएका अध्यक्ष केसीले भारतले छिमेकी साना राज्यहरुलाई उत्पिडन गरिरहेको र फकाउन आएको भन्दै फकाउनकै लागि आएको भएपनि संबिधानको बिरोधमा नाकाबन्दी गरेका मोदीले सार्वजनिक रुपमा माफि माग्नुपर्नेथियो भन्नुभयो ।
संघीय प्रणालीको अभ्यास
संघीयताको सुरु देखि नै बिरोध गर्दै आउनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले संघीयताका प्रारम्भिक अभ्यासहरुबाट पनि संघीयताको प्रभाव नकारात्मक पाएईएको टिप्पणी गर्नुभयो । बिदेशीको ईशारामा ख्यालख्यालमै मुलुकमा संघीयता लादिएको बताउँदै उहाँले प्रशासनिक खर्चमात्रै पनि धान्न नसक्ने बताउनु भयो । जनतालाई सुविधा दिनकालागि प्रदेश बनाउन सकिने उल्लेख गर्दै प्रदेशमा प्रशासनिक इकाई राखेर समन्वयको काम गर्न सकिने उल्लेख गर्नुभयो । खर्च धान्न नसक्ने संघीयता जनताले खारेज गर्ने बताउँदै ढिलो चाँडो संघीयता अन्त्य हुने उहाँले दावी गर्नुभयो ।
सिडिकेटरले सरकार हटाउने खतरा
उहाँले सरकारले यातायात क्षत्रमा भएको सिन्डिकेट हटाउने निर्णय गरेपनि सिन्डिकेटरले सरकार हटाउन सक्ने खतरा आएको बताउनु भयो । उहाँले यातायात क्षेत्रको सिन्डिकेट सरकारले हटाएपनि शिक्षा, स्वास्थ्य, व्यबसाय, न्याय लगायतका १४ वटा क्षेत्रका सिन्डिकेट हटाउन बाँकी रहेको बताउनु भयो ।