बुटवल, २३ जेठ । एच.आई.भि.को उच्च जोखिममा रहेका समुदाय लक्षित कार्यक्रमहरुको समिक्षा गरिएको छ । राट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको आयोजनामा सात वटै प्रदेशमा प्रदेश स्तरीय समिक्षा गरिएको केन्द्रका निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिनुभयो ।
प्रदेश पाँचको राजधानी बुटवलमा आयोजित समिक्षा कार्यक्रममा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले अहिले भएका अनुसन्धानका तथ्यांक विश्वसनीय हुन नसकेको बताउँदै अनुसन्धानलाई बैज्ञानिक बनाउन आग्रह गर्नुभयो । अहिले पनि समाजमा एच.आई.भि संक्रमितलाई हेर्ने दृटिकोण नकारात्मक रहेको उल्लेख गर्दै जनचेतना अभिबृद्धि तथा संक्रमितको सहि उपचार आवश्यक रहेको मन्त्री बरालले बताउनु भयो ।
उहाँले भारतीय सिमावर्ती क्षेत्रमा लागु औषधको खुल्ला बिक्रि तिवरण हुँदा त्यसले प्रत्यक्ष रुपमा नेपाली युवालाई प्रभाव पारिरहेको बताउँदै यसको रोकथामकालागि सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री बरालले शिक्षा र स्वास्थ्यलाई संविधानमै जनताको मौलिक अधिकारको रुपमा स्थापित गरिएपनि स्वास्थ्यमा छुट्टिने बजेटले मौलिक अधिकारको चरित्र नदेखाएको बताउँदै स्थानीय तहमा बजेट विनियोजन गर्दा स्वास्थ्यलाई प्राथमिकता दिन पनि आग्रह गर्नुभयो ।
प्रदेश पाँचका जिल्ला हरुमा सञ्चालन भएका एच.आई.भि.को उच्च जोखिममा रहेका समुदाय लक्षित कार्यक्रमहरुको सोमबार र मंगलबार दुई दिन बुटवलमा कार्यक्रम गरि समिक्षा गरिएको थियो । काम भईरहेपनि अपेक्षा अनुसार काम हुन नसकेको पाईएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. बासुदेव पाण्डेले बताउनु भयो ।
एच.आई.भि.को उच्च जोखिममा रहेका सुईबाट लागु पदार्थ लिने, पुरुष समलिंगी तथा तेस्रो लिंगी, कैदी बन्दी, एच.आई.भि. संक्रमित, कामकालागि बिदेश जाने कामदार तथा उनीहरुको परिवार र महिला यौनकर्मी यसका लक्षित समुदाय हुन् । समिक्षा कार्यक्रममा प्रदेश पाँचका १२ जिल्लाबाट एच.आई.भि. नियन्त्रणका लागि लक्षित समुदायमा काम गरिरहेका गैरसरकारी संस्था, सरकारी अस्पताल, स्थानीय तहका स्वास्थ्य संयोजक तथा गैरसरकारी संस्थाको काममा समन्वय गर्ने जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका प्रतिनीधि गरि ६० जना सहभागि थिए ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले नागरिकको स्वास्थ्य जीवनयापनकालागि सबै हातेमालो गरेर अंगाडी बढ्नुपर्ने बताउनु भयो । कार्यालयले दिएको तथ्याङ्क अनुसार हाल नेपालमा ३१ हजार २० जनाले एच.आई.भि. बिरुद्धको औषधी सेवन गरिरहेका छन् भने प्रदेश पाँचमा २९ हजार ७ जनाले औषधी सेवन गरिरहेका छन् । तुलनात्मक रुपमा एच.आई.भि. संक्रमितको संख्या घट्दै गएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका जनस्वास्थ्य अधिकृत कृणप्रसाद नागिलाले बताउनु भयो ।