भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन रुप कार्की नेपाल आउंदै

1.3K

भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन रुप कार्की नेपाल आउंदै

बुटवल, २३ जेठ । भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन रुप कार्की एक विशेष कार्यशाला संचालनका लागि नेपाल आउनु हुने भएको छ । गैरआवासीय नेपालीको सहयोगमा भारत्तोलनका प्रशिक्षार्थीले आयोजना गर्ने भारत्तोलन सम्बन्धि विशेष प्रशिक्षण एवं कार्यशालामा सहभागी हुन कार्की जुन १३ तारिख (जेठ ३० गते) नेपाल आउदै हुनुहुन्छ ।

बाग्लुङ्ग जिल्लामा जन्मेर रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारी घर भै बिगत १० बर्षदेखि अमेरिकाको भर्जिनियामा बस्दै आउनु भएका कार्कीले गत बर्ष जर्जियाको एटलान्टामा सम्पन्न अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा प्रथम भै स्वर्ण पदक जित्न सफल हुनु भएको थियो । यस अघी उहां सन् २०१५ मा उत्तर अमेरिका च्याम्पिएन बन्नु भएको थियो ।

भारत्तोलनमा यो स्तरको अन्तर्राष्ट्रिय पदक जित्ने कार्की पहिलो नेपाली हो । सानैदेखि भारत्तोलनमा रुचि राख्ने भएपनि नेपालमा उचित प्रशिक्षणको अभावमा यो सोखलाइ व्यवसायिक रुपमा अघि बढाउन नसके पनि अमेरिका आएपछि भने दैनिक कडा प्रशिक्षण लिने गरेको उहांले वताउनु भयो ।  

आफुले जानेको सिप नेपालमा बांड्न पाउदा निकै खुशी लागेको एनआरएनए अमेरिका खेलकुद उपसमितिका सदस्य समेत रहेका कार्कीले वताउनु भयो । काठमाण्डौमा हुने भारत्तोलन सम्वन्धि कार्यशालाको ब्यवस्थापन कार्कीका सहयोगी प्रकाश राइले मिलाएका छन् भने एनआरएनए अमेरिकाको खेलकुद उपसमितिले अन्य प्राविधिक सहयोग गर्ने छ । ‘आफुले जानेको सिप र अनुभव नेपालका दाजुभाईलाई बांड्न पाउनु ठुलो खुसीको कुरा हो र म यसवाट निकै उत्साहित भएको छु ।’ कार्कीले भन्नुभयो । कार्कीले काठमाण्डौको अलावा भारत्तोलनका विषयमा बुटवलमा पनि प्रशिक्षण र अन्तक्रिया गर्ने कार्यक्रम छ ।