
पाल्पा, २३ जेठ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले स्थलगत अध्ययन गर्नुभएको छ । मन्त्रालयका सचिव, विभागका महानिर्देशक सहितको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी सिद्धबाबा क्षेत्रको अवस्था तत्काल सुधार गर्ने तर्फ काम हुने बताएका छन् ।
बुधबार सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर आसपासको क्षेत्र पुगेर मन्त्री महासेठले सरकार सडकको एम्बुस हेरेर बस्न नसक्ने भन्दै तत्काल काम हुने बताउनु भएको हो । ‘सिद्धबाबा सडकखण्ड एम्बुस जस्तै भएको रहेछ । सुरुङ्गमार्ग वा पहाडकाट्ने के विकल्प हुन्छ । एम्बुसबाट बचाउनको लागि प्राविधिकको सल्लाहमा तीन महिनाभित्र काम सुरु हुन्छ ।’ उहांले भन्नुभयो–‘आगामी वर्षको बजेटमा सुरुङ्गमार्गको अध्ययनमा रकम विनियोजन भएको छ । विकल्प के हुनसक्छ, सोही अनुसार काम हुन्छ । यसपालिको सरकारले आगामी वर्षको बजेटबाट काम सुरु गर्छ । सुरुङ्ग बनाउनै पर्छ । ऐतिहासिक कुराहरुलाई बचाएर काम हुन्छ ।
सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले सिद्धबाबाको काम जटील प्रकृतिको भएको बताउनु भयो । ‘विदेशी कन्सल्टेन्ट नगुहारिकन काम हुन सक्दैन । हचुवाका भरमा यो वा त्यो भनेर काम हुदैन । विस्तृत अध्ययनपछिमात्र काम हुन्छ ।’ श्रेष्ठले भन्नुभयो– ‘पहाडै चलेको छ । सुरुङ्गमार्ग पनि टिकाउ नहुनसक्छ । सडक विभाग पनि तत्काल काम गर्ने पक्षमा रहेको छ । पहाडै काट्ने विकल्प पनि अगाडी बढ्न सक्छ ।’
सानो पानी पर्दा पनि सडक अवरुद्ध हुने अवस्था आएपछि मन्त्री सहितको टोली सिद्धबाबा आईपुगेको हो । सिद्धार्थ राजमार्गको २ दशमलव ८ किलोमिटर सडक अत्यन्त जोखिमपूर्ण रहेको छ । यस सडकखण्डमा पछिल्लो १० वर्षमा ७० जनाको अकालमा मृत्यु भएको छ ।