जनतालाई अध्यारो कोठामा थुनेर समृद्धि आउँदैन : प्रदेश सांसद चौधरी

449

जनतालाई अध्यारो कोठामा थुनेर समृद्धि आउँदैन : प्रदेश सांसद चौधरी

बुटवल, २५ जेठ । प्रदेश पाँचकी प्रदेश सभा सदस्य पुष्पा चौधरीले जनतालाई अँध्यारो कोठामा थुनेर समृद्धि हासिल हुन नसक्ने बताउनु भएको छ । नेपाली काँग्रेसबाट निर्वाचित सांसद चौधरीले सरकारले बहुमतको आडमा जनतालाई दिएका अधिकार कटौती गर्न सुरु गरेको बताउँदै आदीवासी जनजातीलाई दिँदै आएको बिदा कटौती फिर्ता गर्न माग गर्नुभयो ।

तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको तमु ल्होसार बिदा कटौती किन ? बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद चौधरीले सरकारले ‘समृद्ध नेपाल, सुखी खुसी नेपाली’ नारा लगाए पनि काम उल्टो दिशामा गरेको आरोप लगाउनु भयो ।

नेपाल चार जात छत्तिस वर्णको फूलवारी भएको र सबै जातजातीको आ–आफ्नै भाषा संस्कृती, चाडवाड रितिरिवाज भएको उल्लेख गर्दै उहाँले सबै जातजातीका भाषा धर्म, संस्कृति पहिचान गरि संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार गठन संगै आदिवासी जनजातीका ६ वटा धार्मिक चाडपर्वमा बिदा कटौती भएको र त्यसमा चौधरीहरुले नयाँ वर्षका रुपमा मनाउने माघि पर्वको पनि विदा कटौती भएको उल्लेख गर्दै सांसद चौधरीले विदा कटौतीका बिषयमा सदनमा गएर गम्भिर रुपमा कुरा उठाउने बताउनु भयो । उहाँले भन्नुभयो–‘सरकारले यो निर्णय फिर्ता लिनु पर्छ ।’

कार्यक्रममा बोल्दै तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जिएस गुरुङले आदिवासी जनजातीका ६ वटा चाडपर्वका बिदा कटौती भएको बिषयलाई लिएर राजनीतिक नेतृत्व सबैलाई ज्ञापन पत्र बुझईएको र सबै सकारात्मक रहेपनि प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापन पत्र बुझाउन समेत समय पाउन नसकिएको बताउनु भयो । उहाँले २०६२/०६३ को जनआन्दोलन र गणतन्त्र स्थापना पछि आदिवासी जनजातीले पाएको अधिकारलाई वर्तमान सरकारले खोसिदिएको आरोप लगाउनु भयो ।

तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद रुपन्देहीकी अध्यक्ष विमला गुरुङले बहुमतको नाममा सरकारले पुनः बिभेद सुरु गरेको बताउँदै आदीवासी जनजातीका बिदा कटौती भएकोमा आपत्ति व्यक्त गर्नुभयो । अहिले शासन व्यस्थाको नाम परिवर्तन भएपनि आफूहरुले राणा शासनकै अनुभूति गरिरहेको उहाँले बताउनु भयो ।

उहाँले आफूहरुसंग कुनै छलफल र परामर्श नगरी सरकारले एकल निर्णय गरि आदिवासीलाई विभेद गरेको भन्दै आफूहरु त्यस्तो निर्णयको बिरुद्धमा आन्दोलनमा जानुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँका अनुसार तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद रुपन्देहीले आगामी असार १ गते बुटवलमा झाँकी सहित बिरोध प्रदर्शन तथा सभा गर्ने तयारी गरेको छ ।

तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद रुपन्देहीका वरिष्ठ उपाध्यक्ष रामबहादुर गुरुङको स्वागत तथा सचिव ओमप्रकास गुरुङको सञ्चालनमा कार्यक्रम भएको थियो ।