
बुटवल, २६ जेठ । पर्यटन उद्योगसंग जोडिएको हस्पिटालिटि उद्योगको मुलुकमा राम्रो सम्भावना भएपनि दक्ष जनशक्तिको अभाव रहेको औंल्याईएको छ । नेपालमा पर्यटन, उर्जा र कृषि उद्यममा प्रयाप्त सम्भावना देखिएपनि पूर्वाधार बिकास तथा दक्ष जनशक्तिको अभाव चुनौतीको रुपमा खडा भएको सरोकारवालाले औंल्याएका हुन् ।
होटल म्यानेजमेन्ट सम्बन्धि अध्यापन गराउने बुटवलको मेघा ईष्टिच्युसन अफ हस्पिटालिटी म्यानेजमेन्टले शनिबार बुटवलमा आयोजना गरेको हस्पिटालिटी उद्योगमा अवसर, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले पर्यटन र होटल व्यबसायमा अन्योन्यास्रित सम्बन्ध भएकाले पर्यटन र होटललाई छुट्याएर कुनै पनि क्षेत्रको बिकास तथा प्रवद्र्धन हुन नसक्ने बताउनु भयो ।
उहाँले काठमाण्डौ पछि ठूलो शहरको रुपमा बिकास हुँदै गरेको रुपन्देही जिल्लामा पर्यटनको राम्रो सम्भावना रहेकाले पर्यटक भित्र्याउनका लागि स्तरीय होटल तथा ती होटलमा दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै स्तरीय होटल तथा दक्ष जनशक्ति उत्पादनमा लगानी आकर्षण गर्ने नीति अख्तियार गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै होटलको स्तर सुधार गरी गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न सक्ने हो भने पर्यटक भित्र्याउन सकिने बताउँदै उहाँले त्यसतर्फ केन्द्रित हुन होटल व्यबसायीलाई आग्रह गर्नुभयो । अहिले होटलमा दक्ष जनशक्तिको अभाव भईरहेको व्यबसायीले बताई रहँदा यहाँ उत्पादित जनशक्ति विदेश पलायन भईरहेका छन् । यस तर्फ सरकार र स्वयम व्यबसायी पनि संवेदनशिल हुनु पर्ने उहाँको भनाई छ ।
पर्यटन क्षेत्र संग जोडिएको होटल तथा रेष्टुरेन्ट (हस्पिटालिटी) सेवामा दक्ष जनशक्तिको अभाव रहेकाले अभाव परिपुर्तिका लागि सत प्रतिशत रोजगारीको अवसर सहित ईष्टिच्युट सञ्चालन गरेको मेघा ईष्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टका अध्यक्ष सागर पौड्यालले बताउनु भयो ।
त्यस्तै सोही ईष्टिच्युटका डाईरेक्टर छवी पाण्डेले पाँच नम्बर प्रदेशमा विश्व पर्यटनको केन्द्र लुम्बिनी सहित असंख्य प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्र भएकाले पर्यटनको केन्द्र बन्न सक्ने बताउँदै सहि व्यबस्थापन हुन सकेमा हस्पिटालिटी क्षेत्रलाई पनि नमुना बनाउन सकिने बताउनु भयो ।