
बुटवल, २७ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपनि प्रदेश सभामा अझै औपचारिकता पाउन सकेको छैन ।
प्रदेश सभा सचिवालयमा नेकपाको संसदीय दलले अझै मान्यता पाइसकेको छैन । सचिवालयमा पार्टी एक भएको औपचारिक जानकारी नआएकाले प्रदेश सभाले अहिलेसम्म दुई दललाई छुट्टा छुटै रुपमा नै चिनेको प्रदेश सभा सचिवालयका प्रवक्ता उपसचिव इश्वरीप्रसाद शर्माले बताउनु भयो । प्रदेश सभामा नेकपा एमाले र माओवादी केन्द्रकै नाममा तोकिएको छुट्टा छुट्टै बस्ने ठाउँ पनि कायमै छ । यद्यपी दुई दल आपसमा मिलेरै बस्ने गरेका छन् ।
केन्द्रमा पार्टी एक भएपछि दुबै दलको संयुक्त बैठक बसेर मुख्यमन्त्री शंकर पोखरेललाई नेकपाको संसदीय दलको नेता चयन गरिएको छ । त्यसको औपचारिक जानकारी प्रदेश सभा सचिवालयमा पुगेको छैन । अर्को तर्फ प्रमुख सचेतक, सचेतक लगायत पद पहिलेकै अवस्थामा रहेका छन् । दल एक भएको मौखिक जानकारी संसदमा गराएको र लिखित जानकारी गराउन बाँकी रहेको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
अहिले २ जना प्रमुख सचेतक रहेपनि आपसी सल्लाह गरेर काम गरिएको उहाँले बताउनभुयो । माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले एकिकृत दलका प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी टुंगो लगाएर सभामुखलाई जानकारी गराइने र प्रदेश सभामा पार्टी एकताले छिट्टै औपचारिकता पाउने उहाँले जानकारी दिनुभयो ।