पत्रकारले कडा प्रश्न सोध्दा नेपाल टेलिभिजनको कार्यक्रम नै बन्द गराइदिए !

595

पत्रकारले कडा प्रश्न सोध्दा नेपाल टेलिभिजनको कार्यक्रम नै बन्द गराइदिए !

 

बुटवल। नेपाल टेलिभिजनमा प्रत्येक शनिबार राति ८ः४५ बजे प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक बहस कार्यक्रम बन्द भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आदेशमा कार्यक्रम बन्द भएको कार्यक्रम सञ्चालकले बताएका छन् ।

कार्यक्रममा कडा प्रश्न सोधेको भन्दै सञ्चारमन्त्री बाँस्कोटाले कार्यक्रम नै बन्द गरिदिएको कार्यक्रम संचालक राजु थापाले बताए ।

‘अघिल्लो शनिबार मैले सरकारको सय दिन र मन्त्रीहरुको सम्पति विवरणका बारेमा केन्द्रीत रहेर कार्यक्रम चलाएको थिएँ, त्यो कार्यक्रमा अतिथि हुनुहुन्थ्यो –संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा ।  त्यसक्रममा कम्युनिष्ट सरकारका मन्त्रीहरुले आफ्नो सम्पति किन श्रीमतिका नाममा राख्छन् भनेर प्रश्न गरेँ उहाँले त्यसको प्रतिपाद गर्नुभयो । अनि मैले उहाँले नै सार्वजनिक गरेको सम्पत्ति विवरण देखाएपछि उहाँ मसँग आक्रोशित हुनुभएको थियो त्यसको परिणामस्वरुप कार्यक्रम नै बन्द गरिदिनुभयो’ कार्यक्रम सञ्चालक थापाले बताए ।

मन्त्री वास्कोटाले थापाले सञ्चालन गरेको कार्यक्रम बन्द गर्न दिएको निर्देशन लगत्तै नेपाल प्रेस युनियनले विज्ञप्ति निकाली त्यसको भत्सर्ना गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद वास्कोटाको प्रत्यक्ष निर्देशनमा कार्यक्रम बन्द भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

सम्पत्ति विवरणमा दाइजो सम्वन्धि प्रसङगमा अझ रिसाएका मन्त्री वास्कोटाले आफ्नो झुट समात्ने प्रस्तोता थापालाई टेलिभिजनबाटै हटाउन निर्देशन दिएपछि नेपाल टेलिभिजनका समाचार प्रमुखले थापालाई अब आइन्दा कार्यक्रम प्रसारण नुहने जानकारी दिएका थिए ।

युनियनले विज्ञप्तिमा भनेको छ –कार्यक्रम‘सिधा प्रश्न’रोकिएको घटनाले नेपालमा कम्युनिष्ट पार्टी नेतृत्वको शासन शुरु भएयता नेपालमा प्रश्न गर्ने अधिकार कुण्ठित हुँदै गएको प्रष्ट संकेत गरेको छ । पत्रकार समेत रहेका मन्त्री वास्कोटाको यो कृत्य सरकार, सत्ता र यसका कार्यकारीहरुमाथि प्रश्न उठाउने हैन भन्ने निरंकुश मनसायबाट प्रेरित भएर आएको छ । हामीमाथि प्रश्न उठाउनेहरु सरकारी कोपभाजनमा पर्न तयार हौ भन्ने सन्देश दिने किसिमको निरंकुश शैली मन्त्री वास्कोटाबाट प्रकट भएको छ ।

त्यस्तै युनियनले लोकतन्त्रमा हरेक नागरिकले जिम्मेवार निकायमा रहेकाहरुलाई प्रश्न सोध्ने हैसियत र तागत राख्छ भन्ने न्यूनतम ज्ञान समेत नरहेका वास्कोटाले प्रश्न नै गर्ने कर्म भएका एक जना पत्रकारलाई उनले सञ्चालन गर्दै आएको कार्यक्रम बन्द गर्न आदेश दिनुले मन्त्री वास्कोटा सहित केपी ओली नेतृत्वको सरकारको नियत पनि उदाङगिएको जनाएको छ  । ‘केपी ओली नेतृत्वको सरकारले अधिनायकवादी चरित्र देखाएको छ। यो घटनाले सरकार अधिनायकवादको यात्रातर्फ उद्यत भएको प्रष्ट भएको छ’ प्रेस युनियनले भनेको छ ।

यसैबिच नेपाल टेलिभिजनबाट प्रत्येक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ मन्त्रीको आदेशमा बन्द भएको भन्ने खवरप्रति नेपाल टेलिभिजनले खण्डन गरेको छ ।

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको कुनै संलग्नता नरहेको बताएका छन् ।

‘नेपाल टेलिभिजन समाचार च्यानलको निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’ महाप्रवन्धक रोकाको भनाई छ ।

यसअघि उक्त कार्यक्रम मन्त्री बास्कोटाको निर्देशनमा बन्द गरिएको कार्यक्रम सञ्चालक राजु थापाले बताएका थिए । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।