निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अवरूद्ध

1.3K

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अवरूद्ध

बुटवल,५ असार – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अवरूद्ध भएको छ ।

जग्गा अधिकरण गरेको लामो समय बितिसक्दा समेत मुआब्जा वाफतको रकम नपाएको भन्दै जग्गाधनीले विमानस्थल निर्माण कार्य प्रभावित गरेर धर्ना बसेका छन् । स्थानीयले विमानस्थलको धावनमार्गको काम पूर्णरुपमा ठप्प पारेका छन् भने आयोजनाको सुरक्षामा निर्माण भइरहेको टर्मिनल भवन, कन्ट्रोल टावर लगायतका निर्माण कार्य सुस्त पारेका छन् ।

धर्नाको संघीय समाजवादी फोरमका प्रदेश सांसद सन्तोष पाण्डेयले नेतृत्व गरेका छन् । उनले जनताले भुक्तानी नपाउँदासम्म निर्माण कार्य अगाडि बढ्न नसक्ने बताए । ‘जग्गा मूल्यांकन भएको २ महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमति भएपनि हालसम्म मुआब्जा वितरण नहुँदा बाध्य भएर निर्माण कार्य रोक्न परेको छ,’ उनले भने ।

१ वर्ष अगाडि नै मुआब्जा दिने बताइएको थियो । राष्ट्रिय गौरवको आयोजना रहेको गौतम बुद्ध विमानस्थलको निर्माण कार्य पटक–पटक अवरुद्ध हुँदै आएको छ । हालै मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ५ अर्ब रुपैयाँ रकम निकासा भइसकेको छ ।

करीब ५० प्रतिशत निर्माण सकिएको विमानस्थलको प्रगतिमा मुआब्जा पीडितको अवरोधले काम नरोकिँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

यता, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ओम शर्माले अर्थ मन्त्रालयले ५ अर्ब रकम निकासा गरिसकेको र सो रकम आयोजनाको खातामा नआउँदासम्म मात्र यो समस्या रहने बताए । चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ वितरण गरिसकेको बताउँदै शर्माले अहिले आउने ५ अर्ब वितरणको लागि वितरण अघि गर्नुपर्ने सबै काम सकिएको बताए ।

उनले रकम खातामा आएपछि करीब ४ सय २५ जनालाई मुआब्जा वितरण शुरू गर्ने जानकारी दिए । रनवे निर्माण कार्यमा अवरोध भएपनि विमानस्थल निर्माणका अन्य कार्यहरू सञ्चालन भइरहेको उनले दावी गरे ।