
बुटवल, २० असार । प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले कर्मचारीका कारण संविधान कार्यान्वयमा समस्या भएको बताउँदै मुख्य सचिवदेखि सचिवहरुलाई समाजवादको तालिम आवश्यक रहेको बताउनु भएको छ । उहाँले देश खत्तम पार्ने काम सचिव उपसचिवहरुबाट भएको दावी गर्दै परिवर्तित शासन व्यबस्था अनुसार उनीहरुलाई चल्ने बनाउनकालागि त्यस्तो तालिम आवश्यक रहेको भनाई राख्नुभयो ।
रिपोटर्स क्लव प्रदेश पाँच कार्यालयले बुधबार बुटवलमा आयोजना गरेको बिपद् ब्यबस्थापन र तयारीबारे साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री केसीले सचिव उपसचिवहरु संघ अन्तरगत बसेर तल्ला कर्मचारीलाई प्रदेशमा पठाउने प्रपन्चले मुलुकको बिकास हुन नसक्ने भनाई राख्नुभयो ।
उहाँले प्राकृतिक प्रकोप र विपद्मा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड बनाएर बिपद ब्यबस्थापनका लागि प्रदेश सरकारले प्रर्याप्त तयारी गरेको बताउनु भयो । उहाँले सरकारले विपद् व्यबस्थापनकालागि ‘प्रादेशिक विपद् व्यवस्थापन कोष’ निर्माण गरेको जानकारी गराउँदै कोषको कार्यबिधि बनाएर प्रभावकारी रुपमा सञ्चालन गरिने जानकारी गराउनु भयो ।
सरकारको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा त्यस परिवारले प्रतिव्यक्ति एक लाख रुपैया राहत पाउने छन् भने पशु चौपाया मरेमा ५० हजारदेखि एक लाख रुपैयासम्म क्षतिपुर्ति दिइने उहाँले जानकारी गराउनु भयो । त्यस्तै प्राकृतिक प्रकोपका कारण घर नष्ट भएमा ३५ हजार वा तीन बण्डल जस्तापाता उपलब्ध गराउने सरकारले तयारी गरेको उल्लेख गर्दै उहाँले जोखिमयुक्त नदीमा पूर्व सूचना प्राप्त गर्न आधुनिक पूर्व सूचना प्रणाली जडान गर्न एक करोड रुपैंया बजेट विनियोजन भएको पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य फकरुद्धिन खाँले जनताले सरकारबाट अपेक्षा गरेअनुसार सेवा सुविधा तथा राहत पाउन नसकेको बताउनु भयो । उहाँले विपद्मा परेका जनताले आशा गर्ने प्रदेश सरकारबाट भएको बताउँदै त्यसकालागि प्रदेश सरकारको कुनै मेकानिज्म तथा तयारी नभएको आरोप लगाउनु भयो । ‘जनताले आशा गर्ने प्रदेश सरकारसंगै हो ।’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘तर मुख्य मन्त्री आफैले आसन पायौं, शासन पाएनौं भन्दै हिँडेपछि जनताले के आशा गर्ने ?’
बिकास तथा विपद् व्यबस्थापनका बिषयमा प्रतिपक्ष नहुने भनाई राख्दै यस्ता बिषयमा नेपाली काँग्रेस सरकारसंग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो । कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले शिद्धबाबा क्षेत्रमा दैनिक पहिरो खस्ने समस्या देखाउँदै प्रदेश सरकारले बजेट बिनियोजन गरेपनि काम हुन नसक्दा समस्या यथावत रहेको बताउनु भयो ।
त्यस्तै नेपाल रेडक्रस सोशाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले विपद्मा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण आवश्यकताका आधारमा गर्नुपर्ने भएपनि राहत सामाग्रि बढी दावी गर्नकालागि क्षेती बढी देखाउने गरेको भन्दै सिफारिस गर्ने निकायले बस्तुगत अध्ययन गरेर सिफारिस गर्न आग्रह गर्नुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डिआर घिमिरेले अहिलेको बाढी पहिरोका कारण मुलुकभर १२ जनाको ज्यान जाँदा प्रदेश पाँचमा मात्रै ८ जना मानिसको मुत्यु भएको तथ्यांक प्रस्तुत गर्दै क्षेती न्यूनिकरणकालागि पूर्व तयारीमा रहने सरकारलाई सुझाव दिनुभयो ।
त्यस्तै सुस्तावासी ध्रुवशरण ढुंगानाले नेपाल सरकारले ध्यान नदिँदा भारतले एकलौटी रुपमा गण्डक नहर चलाई रहेको बताउँदै त्यसका कारण सुस्ताबासी डुवानको मारमा पर्नुपरेको गुनासो व्यक्त गर्नुभयो । कार्यक्रम रिपोटर्स क्लव प्रदेश पाँच कार्यलय प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।