बुटवल, २४ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले मान्छेलाई तर्साएर वर्तमान सरकारले मुलुकलाई निरंकुशता तर्फ लैजान खोजेको आरोप लगाउनु भएको छ । उहाँले गृह मन्त्रालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग तथा सम्पत्ति सुद्धिकरण आयोगलाई प्रधामन्त्रीको मातहतमा लगेर जनतालाई तर्साउने काम सुरु भएको बताउँदै यसले मुलुकलाई निरंकुशता तर्फ अंगाडी बढाएको आरोप लगाउनु भएको हो ।
रिपोटर्स क्लव प्रदेश पाँच कार्यालयले आईतबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता पौडेलले सरकारको प्रबृत्तिले लोकतन्त्र खतरामा परेको बताउनु भयो । हिंजो संविधान संशोधन गर्नै हुन्न भन्ने प्रधानमन्त्री केपी ओली र संविधान संशोधन नगरि हुँदैन भन्ने उपेन्द्र यादव आज एक ठाउँमा उभिनुको पछाडीको रहस्यले नेपाली जनतामा थप आशंका उत्पन्न गराएको उहाँले उल्लेख गर्नुभयो ।
नेपाललाई राजनीतिक प्रयोगशाला नबनाउन आग्रह गर्दै उहाँले लोकतन्त्रकालागि अव आवाज उठाउन नपरोस भनेको पुनः लोकतन्त्रकालागि संघर्ष गर्नेपर्ने दिसामा सरकारले गतिबिधि अंगाडी बढाएको उहाँले उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलले उठान गर्नुपर्ने गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नागरिकको समान पहुँचको मुद्धा डा. गोबिन्द केसीले उठाएको बताउँदै डा. केसीलाई बचाउन र माग सम्बोधन गराउन नेपाली काँग्रेसले जस्तोसुकै हतकण्डा अपनाउने चेतावनी दिनुभयो । उहाँले छोराको न्यायको लागि अनसन बसेकी गंगामायाँ अधिकारी प्रति पनि नेपाली काँग्रेसले ऐक्यवद्धता प्रकट गरेको जानकारी गराउनु भयो ।
आफूले सुरु गरेको स्वतन्त्रता सेनानी सम्मान कार्यक्रमको अभियान प्रारम्भ गर्न प्युठान जानु भएका नेता पौडेल फर्कने क्रममा आईतबार बुटवलमा यस्तो प्रतिक्रिया दिनुभएको हो । बि.सं. २००३ देखि ०४७ सम्म पार्टीको संरचना अनुसार पदमा बसेर काम गरेका, पञ्चायत बिरुद्धको आन्दोलनमा जेल परेका, सहादत्त प्राप्त गरेका, घाईते भएका, जिल्लाका नेबिसंघका सभापतिहरु, महिला संघ, जिल्लाबाट केन्द्रीय समितिमा रहेका व्यक्तिहरुको सूची बनाएर स्वतन्त्रता सेनानी घोषणा गर्ने र त्यस अनुसारका पुस्तक प्रकाशन गरि पार्टीलाई बुझाउने अभियान उहाँले सुरु गर्नुभएको छ ।
शनिबार प्युठानबाट सुरु भएको अभियान ७७ वटै जिल्लामा गर्ने र पार्टीमा गरको योगदानको कदर हुनुका साथै सामाजिक पहिचान स्थापना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै अंघिल्लो पुस्ताको योगदान पछिल्लो पुस्तालाई जानकारी समेत हुने भएकाले पार्टीमा देखिएको गुटबन्दिको अन्त्य गर्न समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
स्वतन्त्रता सेनानी सूची तयारीकालागि जिल्लामा ५ जना अग्रजसंग छुट्टा छुट्टै बसेर पुराना बस्तुस्थिती बुझ्ने जिल्ला कार्यसमिति संग बसेर ट्याली गरी सूचि तयारी गर्ने बिधि अपनाईएको पनि उहाँले जानकारी गराउनु भयो । जिल्लामा अभियानको काम गर्नुभएका प्राध्यापक विष्णु पोखरेलका अनुसार त्यसरी प्यूठानमा सुरु भएको उक्त अभियान मार्फत ६५ जना स्वतन्त्र सेनानीको सूची तयार भएको छ ।