
बुटवल, २४ असार । नेपाल व्यूटिसियन संघ प्रदेश पाँचको संयोजकमा रुपन्देहीबाट विष्णु थापा निर्बिरोध चयन हुनु भएको छ । संघको आईतबार बुटवलमा भएको भेलाबाट समितिको उपाध्यक्षमा पाल्पाकी पुनम श्रेष्ठ, सचिवमा रुपन्देहीबाट सुनिता अर्याल, कोषाध्यक्षमा कपिलबस्तुबाट सोनिस्ता लामा चन्द, सहसचिवमा नवलपरासीबाट शान्ति राना र सहकोषाध्यक्षमा पाल्पाबाटै बविता पन्थीलाई चयन गरिएको छ । १५ सदस्यीय कार्यसमितिको सदस्यहरुमा बाँकी जिल्लाबाट चयन गरिएको संघकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक शान्ति शर्माले जानकारी गराउनु भयो ।
भेलाको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बिना सरकारको सहयोग महिलाले स्वरोजगार व्यबसाय सञ्चालन गर्ने कुरा सामान्य नभएको बताउँदै एउटा पुरुषको सफलताको पछाडी पनि महिलाकै हात हुने उल्लेख गर्नुभयो । उहाँले सौन्दर्य व्यबसाय केवल व्यबसाय मात्रै नभएर स्वास्थ्यसंग समेत जोडिएको बिषय भएकाले सरकारले सौन्दर्यलाई औपचारिक शिक्षाको दायरामा ल्याउनु पर्ने माग गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सौन्दर्य व्यबसाय सञ्चालनकालागि सरकारले नीति बनाउने गरी दवाव सिर्जना गर्न आग्रह गर्दै त्यसमा नेपाली काँग्रेसको साथ र समर्थन रहेको जानकारी गराउनु भयो । उहाँले सौन्दर्य व्यबसायलाई व्यबस्थित गर्नकालागि नीति बनाउन आवश्यक रहेको र पाठ्यक्रममा समेत समावेश गरी कलेज तथा विश्वविद्यालय स्थापनामा जोड दिनुभयो ।
प्रदेश संयोजक शान्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन अधिकृत गोबिन्द खनाल, पाल्पाकी अध्यक्ष सुनिता राणा, रुपन्देही अध्यक्ष रेनु कर्माचार्य, सचिव केसरी पाण्डे लगायतले भनाई राखेका थिए । त्यसै अवसरमा संघले एक दिने छाला तथा कपाल सजावट सम्बन्धि सेमिनार समेत गरेको थियो । उक्त सेमिनारमा सौन्दर्यविद चिनु गुरुङले प्रशिक्षण गर्नुभएको थियो ।