
बुटवल, २८ असार । प्रदेश नम्बर ५ को राजधानी रहेको रुपन्देही जिल्लालाई विकृति तथा विसंगति मुक्त जिल्लाका रुपमा स्थापित गराउनका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले १६ वर्ष मुनीका बालबालिकालाई धुम्रपान तथा मदिराजन्य वस्तु बिक्री वितरण नगर्ने भएको छ । संघले कलेज तथा स्कूल पोशाकमा होटलमा आउने जोडी बिद्यार्थीलाई होटलको कोठा उपलब्ध नगराउने निर्णय समेत गरेको छ । तर भ्रमण एवम समूहमा कार्यक्रम लिएर आउने विद्यार्थीहरुको हकमा भने यो नियम लागु नहुने संघले जनाएको छ ।
संघले यो निर्णय कडाईका साथ कार्यान्वयन गर्न संघमा अवद्ध सबै ब्यवसायीहरुलाई आग्रह गरेको छ । संघले जारी गरेको नयाँ व्यवसायी आचार सहिंतामा होटलमा आउने प्रत्येक पाहुना तथा पर्यटकको परिचय खुल्ने गरि दर्ता गर्नुु पर्ने, दर्तामा फोन नम्बर र सङ्ख्या अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने नियम बनाएको संघका अध्यक्ष समुन्द्र जिसीले जानकारी दिनुभयो ।
संघमा आवद्ध कुने पनि व्यवसायीले समाजमा विकृति र विसंगति फैलाउने खालका गतिविधि गरेको पाईएमा र सो प्रमाणित भएमा स्वतः संघको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिने र कानुनी कारवाहीको लागि सम्वन्धित निकायमा सिफारिस गरिने आचारसंहिता निर्माण गरिएको संघका महासचिव माधव कुमार खनालले बताउनु भयो ।
त्यसै गरि संघले आफुले संञ्चालन गरेको होटल तथा रेष्टुरेण्टमा मुल्य सूचि अनिवार्य रुपमा राख्नुपर्ने, होटल रेष्टुरेण्टमा काम गर्ने कामदार कर्मचारीहरुलाई अनिवार्य रुपमा पोशाकको ब्यवस्था गर्नुपर्ने, खाद्य सुरक्षालाई उच्च प्राथमिक्ता दिदै खाने कुराहरु शुद्ध र सफा राख्नुपर्ने जोड दिएको छ ।
होटलमा कुनै पनि ग्राहकले शंकास्पद गतिविधि गरेमा, तुरुन्तै संस्थाको आधिकारिक व्यक्ति तथा प्रशासनमा सूचना गर्नुपर्ने आचारसहिंतामा उल्लेख गरिएको छ । संघले विहिवार आचारसहिता सार्वजनिक तथा व्यवसायिक अनुगमन समितिको कार्य शुभारम्भ गरेको छ । अनुगमन समितिका संयोजक रोमाकान्त पाण्डेलाई संघका अध्यक्ष जिसीले अनुगमनका आवश्यक निर्देशन सहितको कागजात हस्त्तान्तरण गर्नु भएको थियो ।