‘टेण्डर प्रकृया चाँडो अंगाडी बढाउ: होईन भने अदालत जान्छौं’

1.3K

‘टेण्डर प्रकृया चाँडो अंगाडी बढाउ: होईन भने अदालत जान्छौं’

बुटवल, ३१ असार । लुम्बिनी अञ्चल अस्पताल परिषरका व्यबसायिक सदरमा आह्वान गरिएको टेन्डर प्रकृया रोकिएपछि टेण्डर हालेका व्यबसायी आक्रोसित भएका छन् । लुम्बिनी अञ्चल अस्पताल प्रशासनले गत जेठको २७ गते एक महिनाको म्याद सहित अस्पताल परिषरका ६९ सटरमा टेण्डर आह्वान गरेको थियो । टेण्डर हाल्नकालागि केही घण्टा मात्रै समय बाँकी रहँदा अस्पताल प्रशासनले टेण्डर प्रकृया स्थगित भएको सुचना टास गरेको थियो ।

अस्पताल प्रशासनले आह्वान गरेको टेण्डरमा २४५ जना व्यबसायीले टेण्डर फारम अस्पतालबाट किनेका छन् भने १३ जनाले डिपोजिट वापतको रकम बुझाएको बैंक भौचर समेत अस्पताल प्रशासनमा दर्ता गरिसकेका छन् । बाँकी रहेका अधिकाँस व्यबसायीले डिपोजिट वापतका रकम बैंकमा जम्मा गरे पनि भौचर अस्पताल प्रशासनमा दर्ता गराउन बाँकी रहेको बताउँदै जसरी भएपनि सटरको टेण्डर प्रकृयालाई चाँडो अंगाडी बढाउन माग गरेका छन् ।

व्यबसायिक सटरमा टेण्डर हालेका व्यबसायीहरु अस्पताल प्रशासनको कदमले आफूहरु पिडामा परेको बताउँदै व्यबसायी बुद्धिप्रसाद ज्ञवालीले स्थगित गर्नुथियो भने टेन्डर प्रकृया किन अगाँडी बढाएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । टेण्डर प्रकृया रोकिएको विषयमा अहिले अस्पताल बिकास समितीका अध्यक्ष रमेश खनाल र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनाल समेत बाझिएका छन् ।

टेन्डरकालागि फारम खरिदको समय सकिनै लाग्दा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका नीजि सचिवले प्रदेश सरकारसंग समन्वय गरेर टेण्डर प्रकृया अंगाडी बढाउन भन्दै गरेको पत्राचारको भरमा आफूलाई समेत जानकारी नगराई एकाएक मेसुले स्थगित भएको सूचना टाँस भएको अस्पतालका अध्यक्ष खनाल बताउनु हुन्छ । असारको २५ गते टेण्डर खोल्ने मिति तय थियो । सोही अनुसार २४ गते फारम बिक्रिको समय सकिनै लाग्दा टेण्डर प्रकृया स्थगित भएको हो ।

टेण्डर प्रकृया अवरुद्धबाट पिडित भएका व्यबसायीहरुले आईतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा आफूहरु टेण्डर प्रकृयामा सहभागि भएर ऋण धन गरेर डिपोजिट बैंकमा जम्मा गरेकाले प्रकृया स्थगित हुँदा ठूलो मार परेको व्यबसायी चन्द्रकान्त खनाल बताउनु हुन्छ । व्यबसायी पुष्कर पाण्डेले अस्पताल प्रशासनलाई चाँडो प्रकृया अंगाडी बढाउन आग्रह गर्दै होईन भने आफूहरु न्यायकालागि अदालतको ढोका ढकढकाउने चेतावनी दिनुभयो ।