मोक्षधाममा श्रावणी महामहोत्सव

594

मोक्षधाममा श्रावणी महामहोत्सव

बुटवल, ३२ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पहुनी स्थित मोक्षधाम सेवा आश्रममा मंगलबार देखि साउन महिनाभर श्रावणी महामहोत्सव सुरु हुँदैछ । साउन महिना शिव महिना पनि भएकोले शिवपुजन सहितको श्रावणी महामहोत्सव गर्न लागिएको हो ।

एक महिने श्रावणी महामहोत्सव सफल बनाउनकालागि विषयगत बिभिन्न समितिहरु बिस्तार गरिएको छ । र तयारीका काम पुरा भएका श्रावणी मेला आयोजक समितिका संयोजक आनन्दभगत श्रेष्ठले जानकारी दिनुभयो ।

आशुतोष भगवान शिवजीको प्रिय महिना साउनभरी शिव महिमा सम्बन्धि सांगितिक आध्यात्मिक प्रवचन, श्रावणी मेला, अखण्ड जलधारा, रुद्राभिषेक एवं शिव भजनकृतन सहित मनाउन लागिएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष बञ्जाडेले बताउनु हुन्छ । साउनको ११ गतेदेखि कथा वाचक पं. नेत्र पराजुलीले संगितमय शिवपुराण कथा वाचन गर्नुहुने उहाँले जानकारी गराउनु भयो ।

२०६८ सालमा स्थापना गरिएको मोक्षधाममा हालसम्म राधाकृष्ण मन्दिर, सन्त आश्रम, सत्संग हल, बृद्धाश्रम, कुरुकुल आश्रम, १००८ शिवलिंग सहितको विश्वनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, अमृत कुण्ड, विशाल सतसंग हल निर्माण भईसकेको छ भने मोक्षधाम गुरुयोजना अनुसारको ८ धामको मन्दिर निर्माणधिन अवस्थामा रहेको धामका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो ।

भारतमा रहेका प्रशिद्ध बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी तथा नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुरधाम गरी आठ धाम बनाउने र रुपन्देहीलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बिकास गर्ने लक्ष्य सहित मोक्षधाम सेवा आश्रमको बिकास गरिएको थियो । सोही अनुसार गर्न लागिएको श्रावणी महामहोत्सवमा सहभागि हुन र पुण्य आर्जन गर्न मोक्षधाम सेवा आश्रमले सबैलाई आह्वान गरेको छ ।