अस्पतालको सटरमा टेण्डर विवाद : माग अनुसार अन्तरिम आदेश भएन

1.3K

अस्पतालको सटरमा टेण्डर विवाद : माग अनुसार अन्तरिम आदेश भएन

बुटवल, ९ साउन । लुम्बिनी अञ्चल अस्पतालको सटर टेण्डर प्रक्रिया सम्बन्धी मुद्दामा उच्च अदालतले तत्काल अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । अस्पतालको सटरको टेण्डर प्रक्रिया अन्तिम समयमा स्थागित भएपछि बोलपत्र दिनेहरुले उच्च अदालत तुल्सीपुर बुटवल इजालसमा रिट दायर गरेका थिए ।

उक्त मुद्दामा अन्तरिम आदेश दिन पर्ने वा नपर्ने सम्बन्धमा बुधबार बहस भएको थियो । दुबै पक्षको बहस सुनेपछि न्यायधिस बामदेव ज्ञवाली र गोकर्ण डाँगीको संयुक्त इजालसले निवेदकहरुको हकमा अहिले नै अपूरणीय क्षति हुने अवस्था नदेखिएकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको हो ।

मुद्दामा निवेदकको पक्षबाट गोकर्णसिंह थापा, जोगबहादुर खत्री र लोकप्रसाद खरेलले बहस गर्दै मन्त्री स्तरीय निर्णय समेत नभई मन्त्रीको निजि सचिवको पत्रका आधारमा अस्पताल विकास समितिले टेण्डर स्थगितको निर्णय गर्नु गैरकानूनी भएको बताएका थिए । उनीहरुले टेण्डरको लागि बोलपत्र दर्ता गरेका र फारम लगेकाहरु मर्कामा परेको उल्लेख गरेका थिए ।

अस्पतालका मेडीकल सुपरिटेण्डका तर्फबाट बहस गरेका उच्च सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्ता रुद्रप्रसाद पन्थी, पशुपति भण्डारी र दामोदर घिमिरेले मन्त्रालयको लेटर प्याडबाट आएको पत्र आधिकारिक नै हुने दाबी गरेका थिए । अस्पताल विकास समितिको तर्फबाट महेन्द्रप्रसाद पाण्डेले बहस गर्दै विकास समितिले मन्त्रालयको निर्णयलाई चुनौति दिन नसक्ने भएकाले मन्त्रालयको निर्णय मानेको बताउनुभएको थियो ।

अञ्चल अस्पतालका ६९ वटा सटर भाडामा लगाउन सार्वजनिक खरिद ऐन अनुसार जेठ २७ गते टेण्डर आवहान गरिएको थियो । असार २५ गतेसम्म टेण्डरको म्याद रहेकोमा २४ गते स्वास्थ्य मन्त्रीको निजी सचिवको पत्रको आधारमा टेण्डर स्थगित भएको थियो । टेण्डर स्थगित गरेपछि व्यवसायीहरु पुस्कर पाण्डे, रामप्रसाद यादब अहिर, जुनेद खान र बुद्धिबहादुर ज्ञवालीले अन्तिम समयमा स्थगित गरिदा आफूहरु मर्कामा परेको भन्दै उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

रिट दर्ता लगत्तै अदालतले १५ दिन भित्र लिखित जवाफ दिन अस्पताल विकास समिति, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रदेश ५ को सामाजिक विकास मन्त्रालय र संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारि गरेको थियो ।