सरकार तानाहाही हुँदै गएको नेता कोईरालाको आरोप

1.3K

सरकार तानाहाही हुँदै गएको नेता कोईरालाको आरोप

बुटवल, १२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले पूर्व राजाले जस्तै वर्तमान प्रधानमन्त्री केपी ओलीले पनि शक्ति हातमा लिंदै गएको आरोप लगाउँदै यहि बाटोमा अंगाडी बढीरहे प्रधानमन्त्री ओलीको पनि पूर्व राजाको हालत हुने चेतावनी दिनुभएको छ ।

वर्तमान सरकारलाई एक दलिय शासन व्यबस्थामा अग्रसर भएको आरोप लगाउँदै उहाँले दुई तिहाईको सरकार हुँदाहुँदै पनि सांसद र मन्त्रीहरुलाई प्रतिरक्षा गर्न निर्देशन दिनुले प्रधानमन्त्री ओलीको निरिहता प्रष्ट भएको बताउनु भयो । रिपोटर्स क्लव प्रदेश पाँचले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने काँग्रेस नेता कोईरालाले लोकतान्त्रिक सरकार भए बिरोधीका आवाज पनि सुनेर समाधान गर्नुपर्ने बताउँदै त्यस्तो नदेखिएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले प्रेस स्वतन्त्रता माथि पनि नजानिदो गरी हमला गर्न सुरु गरेको बताउँदै त्यस तर्फ सतर्क रहने पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले चालु आर्थिक वर्षकालागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम सर्वसम्मत पास हुन दिने नेपाली काँग्रेसको ठूलो कमजोरी भएको औंल्याउँदै काँग्रेसले अव त्यस्तो कमजोरी दोहो¥याउन नहुने टिप्पणी गर्नुभयो ।

फरक प्रसंगमा उहाँले आफू सधै हिन्दु राष्ट्रको पक्षमा रहेको बताउँदै संविधानमा सोझै हिन्दुराष्ट्र नभनेपनि घुमाउरो रुपमा हिन्दु राष्ट कायम रहेकाले संविधान हिन्दु मैत्री रहेको टिप्पणी गर्नुभयो । उहाँले नेपाली काँग्रेसले राजालाई संवैधानिक भएर बस्ने स्थान दिईएकै भएपनि राजा बिस्तारै शक्ति हातमा लिन थालेपछि आफ्नो स्थान आफै गुमाएको बताउनु भयो । उहाँले पहिले राष्ट्रियताको प्रतिक राजा भएजस्तै अव राष्ट्रियताको प्रतिक जनता भएको प्रष्ट पार्नुभयो ।

दुई ध्रुवमा बाँडिएका एमाले र माओवादी केन्द्र बिचको पार्टी एकता स्वार्थले एक ठाउँमा आएको बताउँदै स्वार्थले भएको एकता दिगो हुनेमा शंका व्यक्त गर्नुभयो ।