घुस सहित दुई ईञ्जिनियर पक्राउ

1.3K

घुस सहित दुई ईञ्जिनियर पक्राउ

बुटवल, १२ साउन । भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई शनिवार भैरहवाबाट पक्राउ गरेको हो ।

आयोग स्रोतका अनुसार सेवाग्राहीसँग घुसबापत लिएको नगद १२ लाख र २४ लाख रुपैयाँ बैकमा जम्मा गरेको भौचर सहित ईन्जिनियर ठाकुर र निजकी श्रीमती पक्राउ परेका हुन् । ठाकुरकी श्रीमतीलाई भने हेटौडाबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको हो । घुसको पैसा लिएर वीरगंजस्थित घरमा जाने क्रममा आयोगको टोलीले उनलाई बाटैमा पक्राउ गरेको हो ।

निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन् । सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले ठाकुरलाई श्रीमतीसहित पक्राउ गरेको हो । आर्थिक वर्ष समाप्त भएको र वर्ष भरी गरेका कामको कमिशन स्वरुप सेवाग्राहीवाट रकम असुली गरेर भ्रष्टाचार गरेको हुनसक्ने अनुमान लगाईएको छ । पक्राउ परेका श्रीमान श्रीमतीलार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा राखेर थप अनुसन्धान भैरहेको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यति ठुलो रकम सहित सरकारी कार्यालयका प्रमुखलाई पक्राउ गरेको यो पहिलो घटना भएको बताईएको छ । यस्तै गुल्मीमा पनि घुस लिदै गरेका एकजना सव इन्जिनियर पक्राउ परेका छन् । तम्घास – सिमलटारी – प्युठान सडक आयोजनाका सव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । झालाई शनिवार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।

सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बस्ने झाले शनिवार निर्माण कार्यमा संग्लग्न व्यवसायीलाई ‘रनिङ्ग बिल’ भुक्तानीका लागि रकमसहित बोलाएका थिए । उक्त सूचना प्राप्त गरी बुटवलबाट गएको टोलीले झालाई कोठाबाटै पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक दिनेश आचार्यका अनुसार सव ईन्जिनियर झालाई सेवाग्राहीसँग निर्माण कार्यको रनिङ विल पास गरे वापत कमिशनको रकम घुस लिदै गर्दा रँगेहात पक्राउ गरिएको हो । पक्राउ परेका झालाई गुल्मीवाट बुटवल ल्याई थप अनुसन्धान भैरहेको छ ।