
भैरहवा, १५ साउन । नेपाली काँग्रेसले मंगलबार देशैभरी सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसले अधिनायक वादको बाटोमा अंगाडी बढेको सरकारलाई लोकतन्त्रको बाटोमा ल्याउनकालागि देशभरको बिरोध प्रदर्शनका क्रममा रुपन्देहीमा पनि प्रदर्शन गरिएको छ ।
जिल्लाका बिभिन्न स्थानबाट आएका नेपाली काँग्रेसका नेता कार्यकर्ता भैरहवाको बुद्धचोकमा जम्मा भई प्रदर्शन सहित मिलनचोक पुगेका थिए । प्रदर्शन पछि मिलनचोकमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण्ले परम्परागत रुपमा रहि आएको राजसंस्थाको अन्त्य गरेर कम्युनिष्ट अधिनायकवादकालागि नेपाली जनताले बलिदानी नदिएको बताउनु भयो ।
प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्दै नेता खाणले भन्नुभयो, ‘हिजो राजतन्त्रको विरुद्धमा नेपाली जनताले आन्दोलन गर्दा बालकोटमा बसेर बयल गाढामा चढेर अमेरिका पुग्नु र नेपालबाट राजतन्त्र हटाउनु उस्तै हो, भन्ने केपी ओली आज कहाँ हुनुहुन्छ ?’ सरकार र प्रधानमन्त्रि केपी शर्मा ओली प्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका नेता खाँणले प्रधानमन्त्रि ओलीलाई जथाभावी नबोल्न, जथाभावी निणर्य नगर्न र जुनसुकै घटनामा पनि गोली नचलाउन चेतावनी दिनुभयो । उहाले भन्नुभयो–‘अहिले ओली जीको गोली र बोली सस्तो भएको छ, बोली बन्द गर्नुस गोली पनि सतो भएको छ, जनताले यि दुबै राम्रो मानेका छैनन् ।’
उहाले डा. गोबिन्द केसी अनसनमा बस्दा जुम्ला अस्पतालमा गोली चलेको, चितवनमा ईरिक्सा चालक मजदुर माथी गोली चलेका भन्दै त्यस्ता कार्य जनताले नरुचाएकाले बन्द गर्न आग्रह गर्नुभयो । उहाले प्रधानमन्त्री ओली नेपालका मालिक बन्न खोज्नु कम्युनिस्ट सर्वसत्तावाद भएको आरोप लगाउँदै सरकारलाई सन्देश दिन देशैभर पार्टीले सभा आयोजना गरेको बताउनु भयो ।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेता तथा प्रतिनिधि सभाका सदस्य भरतकुमार शाहले नेकपाको सरकारले देशमा महंगी मात्रै बढाएको आरोप लगाउनु भयो । उहाले भन्नुभयो–‘ओली सरकारले २७ पटक महंगी बढाईसक्यो, जनतालाई आकुल व्याकुल पारेको छ ।’ महिला नेतृ तथा प्रदेश सभा सदस्य रमा अर्यालले ओली सरकारका जिम्मेवार नेताहरुले देशैभरीका महिलाहरुको अस्मितामाथी हमला गरेको अरोप लगाउदैं समयक्रममा नेपाली महिलाले त्यसको जवाफ दिने चेतावनी दिनुभयो ।
नेता देवीप्रसाद चौधरीले नेकपाको सरकार कम्युनिस्ट सर्वसत्तावाद तर्फ अगाडी बढेको जनाउदैं त्यसलाई नियन्त्रण गर्न कांग्रेस अगाडी बढेको बताउनु भयो ।नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको सभामा उपसभापति फणेन्द्र शर्माले स्वागत र सचिव रामकृष्ण खाँणले सञ्चालन गर्नुभएको थियो ।
त्यस्तै नेपाली काँग्रेसले कपिलबस्तुमा पनि प्रदर्शन गरेको छ । सदरमुकाम तौलिहवामा गरिएको प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभा गरिएको थियो । कोणसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य अतहर कमालले सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित हिंडेको बताउँदै संवैधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको, संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्नेमा एकै दलको बनाएर संविधान मिचेको लगायतका गतिविधि प्रति आपत्ति प्रकट गर्नुभयो ।
सरकारले नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको, बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको प्रति काँग्रेसको आपत्ति रहेको उहाँले बताउनु भयो । सो अवसरमा सांसद अभिषेकप्रताप शाहले बढ्दो महंगी विरुद्ध र लोकतान्त्रिक पद्धतिको रक्षाको निम्ति आन्दोलन गर्नु परेको बताउनु भयो । सो अवसरमा पार्टी सभापति सुरेन्द्रराज अजार्चायले सरकार नेकपाको दुई तिहाइमा छ भन्दैमा गलत काम गरेकोमा त्यस्ता काम गर्न नदिन आन्दोदनमा उत्रन वाध्य तुलाएको बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेसले अर्घाखाँचीमा पनि प्रदर्शन गरेको छ । सन्दिखर्कमा आयोजना गरिएको प्रदशनमा केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले बर्तमान सरकारले दुइ तिहाइको दम्भ देखाएर अधिनायकबाद लाद्न खोजेको बताउनु भएको छ । उहाले सरकारले जनमुखी भन्दा पनि जनतालाइ ढाड सेक्ने काम गरेकोले प्रमुख प्रतिपक्षीदल सडकमा आउन बाध्य भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति तथा जिल्ला समन्वय समितिका अध्यक्ष पिताम्वर शर्मा, पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा प्रदेस सांसद निर्मला क्षेत्रीलगायतले मन्तब्य राख्दै महंगी, कालोबजारी र भ्रष्टाचारको अन्त्य नगरे कांग्रेस चुप लागेर नबस्ने बताएका थिए ।