रुपन्देहीको शिक्षामा ९२ प्रतिशत वित्तिय प्रगति

1.3K

रुपन्देहीको शिक्षामा ९२ प्रतिशत वित्तिय प्रगति

बुटवल, १६ साउन । शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले गत आर्थिक वर्ष २०७४/०७५ को प्रगति समिक्षा गरेको छ । बुधबार समन्वय इकाई कार्यालयमा पत्रकारमाझ वर्ष भरिमा भएका कामको समिक्षा गरिएको हो ।

गत आर्थिक वर्षमा ९२ प्रतिशत बित्तिय प्रगति हासिल गरेको रुपन्देहीका शिक्षा समन्वय अधिकारी दिवाकर भण्डारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा ३५ करोड ९३ लाख १३ हजार कुल बजेट मध्ये ३३ करोड ८ लाख ६२ हजार रुपैंया बराबरको वित्तिय प्रगति गरेको उहाँले जानकारी गराउनु भयो । कार्यालयले विषयगत रुपमा बिद्यालय क्षेत्र बिकास कार्यक्रममा ९२ प्रतिशत, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रममा ८८ प्रतिशत र अनौपचारिक शिक्षा कार्यक्रममा ८५ प्रतिशत खर्च गरेको हो ।

रुपन्देही जिल्लामा प्राविधिक शिक्षा सञ्चालन भएका ११, नमुना बिद्यालय ६, एनेक्स कार्यक्रम सञ्चालन भएको १, संस्कृत माध्यमिक बिद्यालय १, गुरुकुल आश्रम ४, मदरसा ११८, सामुदायिक सिकाई केन्द्र ४७ मध्ये नविकरण भएका ४१, खुल्ला बिद्यालय एक, पौढ बिद्यालय एक वटा छन् । शिक्षा कार्यालयले जिल्लामा सञ्चालन भएका मदरसाको अवस्थाका आधारमा कक्षा ७ सम्मको माथै अनुमति प्रदान गरेको छ । त्यसरी अनुमति प्रदान गरिएका मदरसालाई जनही १ लाख ८८ हजार बार्षिक अनुदान प्रदान गरिएको उपसचिव घनश्याम भुसालले बताउनु भयो ।

त्यस्तै सामुदायिक, संस्थागत, धार्मिक गरि जिल्लामा प्राथमिक तहका ३८६, निम्न माध्यमिक तहका १३०, माध्यमिक तहका २१० र उच्च माध्यमिक तहका ८८ गरि ८१४ बिद्यालय छन् । शिक्षा समन्वय इकाईसंग जिल्लामा कक्षा १२ सम्म अध्ययन गर्ने बिद्यार्थीको संख्या २ लाख ३६ हजार ३०६ रहेको बिद्यालय निरिक्षक हरिबहादुर विष्टले जानकारी दिनुभयो ।