प्रादेशीक मिडिया कानुन छिटै : मन्त्री केसी

609

प्रादेशीक मिडिया कानुन छिटै : मन्त्री केसी

बुटवल, १६ साउन । प्रदेश पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सरकार र मिडियाले साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताउनु भएको छ । उहाँले प्रदेश सरकारले समयमै आम संचार ऐन निमार्ण गरी मिडियालाई नियमन गरिने बताउनु भयो ।

रिपोर्टर्स क्लव प्रदेश पाँचको कार्यालय बुटवलमा आयोजित नेपाल पत्रकार महासंघ प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केही मिडियाले अप्रासंगिक बिषयलाई बढी स्थान दिएको समेत बताउनु भयो ।

‘हामी प्रादेसिक मिडिया सम्बन्धि ऐन कानुन बनाउदै छौं, अहिले पत्रकारको पनि सल्लाह सुझाब पाउँ’ उहाँले भन्नुभयो । मिडिया भित्रका समस्याहरुको विषयमा सरकार जानकार रहेको भन्दै मन्त्री केसीले त्यसको दीगो समाधानका लागि पत्रकार महासंघ लगाएतका निकायसंग समन्वय गरिने बताउनुभयो ।

उहाँले पत्रकार र राजनीतिक दलकावीचमा बेला वखतमा देखिने विवाद अन्त्य गरी समाज विकासमा लाग्नुपर्नेमा जोड दिदै जनअपेक्षा अनुसार पत्रकारिता जरुरी रहेको औल्याउनु भयो । मन्त्री केसीले भन्नुभयो–‘पत्रकारिता आर्कषक क्षेत्रको रुपमा बिकास गरिनुपर्छ, सरकार यहि ढंगले अघि बढेको छ ।’

उहाँले प्रदेश ५ मा १२ वटा सुचना केन्द्र बनाउने र प्रादेसिक टेलिभिजन बनाउने गरि काम शुरु गरिने समेत बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश पाँचका अध्यक्ष मौसम रोकाले श्रमजीवि पत्रकार ऐन लागू गर्न गराउन लागिपर्ने बताउनुभयो । उहाँले पत्रकार कल्याणकारी कोष निमार्णका लागि महासंघ पाँच नम्वर प्रदेश समितिले पहल सुरु गरेको पनि जानकारी गराउनु भयो ।