बुटवल, १८ साउन । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. २ लाई वाल बिवाह मुक्त वडा घोषणा गरिएको । वडा भित्र १८ वर्ष भन्दा कम उमेरका बिवाह वडा कार्यालयको अभिलेखमा नरहेको, वालबालिकाको अनिवार्य जन्मदर्ता भएको, १८ वर्ष भन्दा कम उमेरका बिवाह नभएको र भईहालेपनि उजुरी पर्ने गरेको, वडा बाल संरक्षण समिति बनाई लागु गरेको, वडामा रहेका स्थानीय निकाय तथा समुदायमा आधारित संघ संस्था, समिति समुहहरु वाल विबाह विरुद्धमा सक्रिय भएर लागेको, लमि तथा पुरोहितहरुले वालविवाह गराउन छाडेको लगायतका वालविबाह मुक्त घोषणाकालागि सूचकले निर्धारण गरेका सबै सूचांकहरु पुरा गरि बाल बिवाह मुक्त वडा घोषणा गरिएको वडा सचिव लक्ष्मण ज्ञवालीले जानकारी दिनुभयो । यद्यपी नेपालको संविधान अनुसार अव भदौ १ गतेदेखि लागु हुने कानुनले २० वर्ष भन्दा कम उमेरको विवाहलाई प्रतिवन्ध लगाएको छ ।
शुक्रबार वडा कार्यालय परिषरमा बाल विबाह मुक्त वडा घोषणा कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा रुपन्देही जिल्लामै पहिलो बाल विबाह मुक्त वडा घोषणा गरिएको हो । घोषणा सभालाई सम्बोधन गर्दै प्रदेश पाँचका विपक्षि दलका नेता बलदेश शर्मा पोखरेलले कानुनमै १८ वर्ष भन्दा कम उमेरमा विवाह प्रतिवन्धित भएकाले यो कार्यक्रमले कानुनको कार्यान्वयन पक्षलाई समेत बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तुलनात्मक रुपमा तराईका जिल्लामा बालविवाह उल्लेखनीय हुने गरेको बताउँदै तराईबाटै बालविबाह मुक्त वडा घोषणाले सकारात्मक सन्देश पर्वाह गर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै प्रदेश सांसद पुष्पा थारुले कानुन विपरित हुने काम अपराध भएको बताउँदै बाल विबाह पनि सामाजिक अपराध भएको बताउनु भयो । जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले वाल विबाह एक प्रकारको सामाजिक अपराध भएकाले उन्मुलनकालागि सबै एक भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णुप्रसाद बस्यालले प्रतिवेदन प्रस्तुत गर्दै बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धी १९८९ अवधारणा, नेपालको संविधान २०७२ मा भएको बाल अधिकार सम्बन्धि व्यबस्था, स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बाल अधिकारको समग्र पक्षमा वकालत गरेको बताउनु भयो ।
‘सानै छु बढ्न देउ, बालबिवाह हैन पढ्न देउ’ भन्ने नारा अंगाडी सारेको वडा कार्यालयले बालविबाह मुक्त वडा घोषणाकालागि सूचकको परिधिभित्र रहेर सहजकर्ता, प्रतिनीधि कर्मचारी, विषयगत कार्यालयका सरोकारवाला, महिला स्वास्थ्य स्वयम सेविका, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक, सामुदायिक सिकाई केन्द्र, आमा समुह, क्लव, गैरसरकारी संस्थाको संयुक्त प्रयासमा वडा भित्र बसोबास गर्ने प्रत्येक घरका अभिभावक, शिक्षक तथा पुरोहितलाई हस्ताक्षर गराईएको उहाँले बताउनु भयो ।
बाल बिवाह मुक्त वडा घोषणा कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनीधि, बिद्यालयका शिक्षक, बिद्यार्थी, स्थानीय वडा बासी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।