बुटवल, १ भदौ । अग्नी पिडित बिद्यार्थीलाई राहत प्रदान गरिएको छ । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत नेपाल बिद्यार्थी संघका नेता सुमन अधिकारीलाई नेपाली जनसम्पर्क समिति ईजरायलको सहयोगमा राहत प्रदान गरिएको हो । पर्वत महाशिला गाउँपालिका वडा नं. १ जनपुर निवासी अधिकारीको गत असार १६ गते भैसीलाई दाना पकाउने क्रममा गोठबाट सल्केको आगोले घरगोठ सखाप पारेको थियो । जसका कारण घरमा भएको सबै सम्पत्ती जलेर नष्ट भएको थियो ।
अग्नीपिडित अधिकारीको सहयोगकालागि नेपाली जनसम्पर्क समिति ईजरायलले पठाएको ४२ हजार रुपैंया नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा सम्पर्क समितिका उपाध्यक्ष राजेन्द्र खनालका पिता रुद्र खनाल, लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले हस्तान्तरण गर्नुभएको हो ।
नेपाली जनसम्पर्क समिति ईजरायलका उपाध्यक्ष राजेन्द्र खनालको अग्रसरतामा ईजरायलमा रहेका नेपालीसंग सहयोग संकलन गरि आफूमार्फत पठाएको उहाँका पिता रुद्र खनालले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल अस्पताल बिकास समति अध्यक्ष रमेश खनालले प्रकोपमा परेका व्यक्तिलाई आफ्नो गास काटेर भएपनि सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
नेबिसंघ बुटवल बहुमुखी क्याम्पसका इकाई सभापति बालाराम पौडेलको सभापतित्वमा भएको कार्यक्रममा तरुण दल बुटवल नगर समितिका सभापति सुजन पुन, धनराज कंडेल, सुन्दर अर्याल, विष्णु खनाल लगायतले भनाई राखेका थिए ।