बकर ईद : प्रदेश पाँचमा सार्वजनिक बिदा

446

बकर ईद : प्रदेश पाँचमा सार्वजनिक बिदा

बुटवल, ५ भदौ । प्रदेश पाँच सरकारले आज प्रदेश पाँचमा सार्वजनिक बिदा दिएको छ । आज परेको मुस्लिमहरुले मनाउने बकर ईदको अवसरमा प्रदेश सरकारले बिदा दिने घोषणा गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्रदेश ५ मा ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनु भएको हो ।

यसैबिच प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल अजाहा (बकर इद) पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले शुभकामना सन्देश मार्फत विभिन्न जाति र समुदायका पर्व सबैको साझा पर्व भएको र यी पर्वले मुलुकमा सामाजिक सद्भाव, भातृत्व र मेलमिलापको वातावरण तयार पार्न सघाउ पु¥याएको बताउनु भएको छ ।

उहाँले दिएको शुभकामना सन्देशमा अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको उल्लेख गरिएको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने सरकारको लक्ष्य भएको पनि उल्लेख गरिएको छ ।