अख्तियारको ध्यान अब स्थानीय तहमा केन्द्रित

1.3K

अख्तियारको ध्यान अब स्थानीय तहमा केन्द्रित

बुटवल, ५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोगको ध्यान पालिका केन्द्रित हुने बताएको छ । स्थानीय तहहरुमा ठूलो बजेट जाने र भ्रष्टाचार र अनियमिमता बढेको चर्चा समेत चलेकाले आयोगको ध्यान स्थानीय तहमै केन्द्रित हुने आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले मंगलवार आर्थिक वर्ष २०७४÷७५ को बार्षिक प्रगति विवरण वारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा आयोग कार्यालयका प्रमुख सह सचिव रविलाल पन्थले स्थानीय तहमा कर्मचारी नियुक्तिमा अनियमितता, ठेक्का पट्टा आफ्ना मान्छेलाई दिईएको र जनप्रतिनिधिले पदको दुरुपयोग गरेका उजुरी आयोगमा आउनेक्रम बढेकाले अबको ध्यान स्थानीय तह केन्द्रित हुने बताउनु भयो ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई गत वर्ष सुशासन कायम गर्न र भ्रष्टाचारजन्य गतिविधि नगर्न अभिमुखीकरण गरेर सचेत गराई सकिएको बताउंदै कार्यालय प्रमुख पन्थले अब कुनै छुट नदिई ‘एक्सन’ मा जाने स्पष्ट पार्नुभयो । भ्रष्टाचार जन्य अपराधलाई निरुत्साहित पार्न आयोगले एक दुई सय घुस खानेलाई पनि नछाड्ने वताउंदै उहांले कहि कतै बाट भ्रष्टाचारको सूचना वा उजुरी आउनासाथ तुरुन्त स्टिङ्ग अपरेसन गर्ने बताउनु भयो । कार्यालय प्रमुख पन्थले सेवाग्राहीसँग सरकारी कर्मचारीले घुस रकम मागेको तर रकम नभएर घुस दिन नपाएको अवस्थामा कार्यालयमा सम्पर्क गरे कार्यालयले नै प्रमाणस्वरुप रकम उपलब्ध गराउने जानकारी समेत गराउनु भयो ।

पत्रकार सम्मेलनमा यसअघि लुम्बिनी अञ्चलका ६ जिल्ला कार्यक्षेत्र रहेकोमा नयाँ आर्थिक वर्षदेखि बुटवलस्थित अख्तियार कार्यालयको स्तरोन्नति भइ प्रदेशस्तरको भएको र कार्यक्षेत्र १० जिल्ला पुगेको जानकारी गराईयो । ३० जनाको दरबन्दी र कार्यालय प्रमुख प्रहरी उपरीक्षक हुने गरेकोमा अब सहसचिव कार्यालय प्रमुखसहित ५१ जनाको दरबन्दी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आ.व. २०७४÷०७५ मा आयोगमा कूल ८ सय ५७ वटा उजुरी परेकामा ४ सय ७२ फछ्र्यौट भई ३ सय ८५ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको कार्यालयले जानकारी गराएको छ । जिल्लागत रुपमा रुपन्देहीबाट सबैभन्दा बढी ३०८ वटा, नवलपरासीबाट १९७, कपिलवस्तुबाट १७९, अर्घाखांचीबाट ७२, पाल्पाबाट ५३ र सबैभन्दा कम गुल्मीबाट ४८ वटा उजुरी परेका थिए । यस्तै क्षेत्रगतरुपमा सबै भन्दा बढी उजुरी शिक्षाका र त्यसपछि क्रमशः स्थानीय निकाय,जग्गा, स्वास्थ्य, वन सम्बन्धी परेका कार्यालयले जनाएको छ ।

आयोगमा परेका शिक्षा क्षेत्र संग सम्वन्धित उजुरी मध्येमा पनि सबै भन्दा बढी शिक्षक नियुक्तिमा भएको अनियमितताका रहेका छन् भने स्थानीय तहमा गठित उपभोक्ता समितिबाट भएका अनियमिततासँग सम्बन्धित मुद्दा पनि बढी परेका छन् । गत वर्ष अख्तियारले ५ जनालाई घुससहित रंगेहात पक्राउ गरेको र उनीहरुबाट ६ लाख घुस रकम बरामद भएको कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक वर्ष ०७४÷७५ मा चार करोड आठ लाख रुपैयाँ राजश्व असुल गरेको जनाएको छ । सो रकम अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै दोब्बरले बढी हो ।

आ.व.०७४÷७५ मा पनि आयोगले ६ वटा स्टिङ्ग अपरेशन गरी एक उपसचिव र एक अधिकृतसहित सात जना कर्मचारीहरुलाई पक्राउ गरी मुद्दा चलाएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा कपिलवस्तुको शिवराज नगरपालिकामा २९ करोड मूल्य पर्ने २५ बिघा १० कठ्ठा ११ धुर सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गर्न लागेकोमा आयोगको पहलमा जग्गा नेपाल सरकारका नाउमा फिर्ता गराउन सफल भएको जानकारी गराइयो ।

आयोगको कार्यालयमा उजुरीकर्ताको आधारमा हेर्दा भ्रष्टाचार सम्बन्धी उजुरी दिनेमा महिला ३ प्रतिशत रहेका छन् । त्यसैगरी पुरुष ४३ प्रतिशत, संघ सस्था ३ प्रतिशत र ५१ प्रतिशत वेनामे हिसावले उजुरी परेका छन् । आयोगले उजुरीको श्रोतको रुपमा ईमेल, चिठ्ठीपत्र, फेसबुक, टेलिफोन, पत्रपत्रिका र फ्याक्सलाई लिने गरेको छ ।

कार्यालय प्रमुख पन्थले कार्यालयमा दरवन्दी रिक्त रहनु, दक्ष जनशक्तिको अभाव, प्रविधिको अभाव, बिषयगत तालिमको कमी, गोलमटोल प्रकृतिका उजुरीका चाप, ब्यक्तिगत फाईदा र पूर्वाग्रही रुपले आउने उजुरीलगायतका चुनौति रहेको बताउनु भयो । उहांले पछिल्लो समय घुस खाने शैली बदलिएको र चेकमार्फत, जीन्सी सामान लिएर घुस खाने गरिएको, अनुसन्धान बयानमुखी मात्रै भएको र सेवाग्राहीले बयान फेर्ने जस्ता समस्या पनि चुनौतीका रुपमा रहेको औंल्याउनु भयो ।