स्थापना दिवसमा अपांगता भएका बालबालिकालाई सहयोग

1.3K

स्थापना दिवसमा अपांगता भएका बालबालिकालाई सहयोग

बुटवल, १३ भदौ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को स्थापना दिवसको अवसर पारेर रुपन्देही शाखाले सुस्त मनस्थिती भएका बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान गरेको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं. ७ मा रहेको सुस्त मनस्थिती बालबिद्या मन्दिरमा अध्ययन गर्ने बालबालिकाका लागि शैक्षिक सामाग्रि तथा खाद्य सामाग्रि प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै ईक्यानका पूर्व केन्द्रीय अध्यक्ष दिपक गुरुङले संस्था स्थापनाका अवसरमा जिल्ला शाखाले गरेको कामको स्रहाना गर्दै आफूले पनि थप २५ हजार रुपैंया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ईक्यान रुपन्देहीका संयोजक देवबहादुर कुवँरले अवसर प्राप्त भएमा फरक क्षमता भएका व्यक्तिले पनि राम्रो काम गर्न सक्ने भएकाले उनीहरुलाई शिक्षाकालागि अवसर प्रदान गर्नुपर्ने बताउँदै त्यसैकालागि सानो भएपनि सहयोग गरिएको बताउनु भयो ।

सहयोग ग्रहण गर्दै सुस्तमनस्थिती बालविद्या मन्दिरका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठले अपांगता भएका बालबालिकाको शिक्षा दिक्षामा सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्दै सहयोग सानो भएपनि त्यसको प्रभाव ठूलो हुने बताउनु भयो । त्यस्तैगरी ईक्यानका पूर्व केन्द्रीय अध्यक्ष गुरुङले आर्थिक सहयोगको घोषणा गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।

सुस्तमनस्थिती बालबिद्या मन्दिर (डे केयर युनिट)मा हाल ४० जना बिद्यार्थी रहेको र बिद्यालयले होम भिजिट, काउन्सिलिङ् लगायतका कार्यक्रमबाट करिव २० अपांगता भएका बालबालिकालाई सेवा दिईरहेको कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो । ईक्यान रुपन्देहीका सदस्य गिरिराज पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा अर्का सदस्य दिनेश पौडेलले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।