छलफलका क्रममा काँग्रेसको मध्यस्थतामा मधेसवादी नेतासँग वार्ता प्रक्रिया अगाडि बढाई समस्या समाधान गर्ने सहमति भएअनुरुप आज वार्ताको मिति तय भएको थियो ।
काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग पनि छुट्टाछुट्टै भेट गरी आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्न वार्तामार्फत पहल गनुपर्ने धारणा राखेको थियो । काँग्रेसले आज मधेसी मोर्चासँग छुट्टै छलफल गरी एमाओवादीलाईसमेत सहभागी गराएर वार्तामा बस्ने सहमति भएकामा वार्ताको तिथि सरेको हो ।
“मधेसवादी दलका नेता तिहार मनाउन काठमाडौँ बाहिर गएकाले आज वार्ता हुन सकेन, अब भाइटीकालगत्तै वार्ता हुन्छ, वार्ताबाटै समस्याको समाधान खोजिनेछ”– रासससँग कुरा गर्दै काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले भन्नुभयो ।