बुटवल, २३ भदौ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिता माथि आउने हरेक चुनौतीलाई नेपाली काँग्रेसले सामना गर्ने बताउनु भएको छ । उहाँले नेपाली काँग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको र संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको व्यबस्था गरिएको स्मरण गर्दै उहाँले भन्नुभयो–‘स्वतन्त्र पत्रकारिता माथि आउने हरेक चुनौतीलाई नेपाली काँगेसले सामना गर्छ ।’
बुटवलमा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पत्रकारिता जगतलाई पार्टी भन्दा माथि उठ्न र सञ्चारमाध्यम माथिको हस्तक्षपको समेत बिरोध गर्नुभयो । उहाँले बुद्धको नामबाट सञ्चालित उक्त टेलिभिजनलाई बुद्धका सन्देशहरु प्रसारण गर्न आग्रह गर्दै सभापति देउवाले बुद्धका नाम भजाएर अरु काम नगर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली काँग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले कतैबाट पनि आग्रमण हुन नहुने बताउनु भयो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेस जगतको ठूलो योगदान रहेको तथा प्रेस र प्रजातन्त्र एक सिक्काका दुई पाटा रहेको बताउँदै काँग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका नेता खाँणले प्रेस स्वतन्त्रताकालागि नेपाली काँग्रेसले आफ्नो ताकत लगाईरहने प्रष्ट पार्नुभयो ।
प्रेस माथिको आक्रमणकै कारण पूर्व राजा ज्ञानेन्द्र शाहको २ महिनापनि शासन नटिकेको स्मरण गराउँदै उहाँले प्रधानमन्त्री केपी ओलीलाई पूर्वराजा ज्ञानेन्द्र पथको पछि नलाग्न आग्रह गर्नुभयो ।
फरक प्रसंगमा उहाँले प्रदेश पाँचको बुटवल राजधानीलाई कसैले पनि सार्न नसक्ने बताउनु भएको छ । उहाँले मुख्यमन्त्री सहितका केही नेताहरु प्रदेश राजधानी सार्ने षड्यन्त्रमा लागेको बताउँदै प्रदेश राजधानी हरेक हिसावले बुटवल बाहेक अन्यत्र हुनै नसक्ने बताउनु भयो । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश पाँचको राजधानी बुटवल तोकिएको थियो । बुटवललाई स्थायी राजधानी बनाउनकालागि नेपाली काँग्रेसले जुनसुकै प्रयत्न गर्ने नेता खाँणले अडान लिनुभयो ।
त्यस्तै पूर्वमन्त्री तथा काँग्रेस नेता भरतकुमार शाहले अहिले सरकारले जनताका पिरमर्का बुझ्ने नभई झन पिडा थप्ने काम गरेको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेस यो सरकारले राम्रा काम गरेर पुरा पाँच वर्ष टिकोस भन्ने नेपाली काँग्रेसको चाहना भएपनि उसले जनता मुखी नभई पार्टी कार्यकर्ता मुखी भएर समृद्धिको यात्रा विथोल्ने काम गरिरहेको पनि आरोप लगाउनु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपालका कुनै पनि नेतामा देश बनाउने मनस्थिती नदेखिएको बताउँदै मनस्थिती सुधार गरेर देश बनाउने महाअभियानमा अंगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले जनताले सधै सम्झिरहने काम नेताले नगरेकै कारण मुलुकको यत्रो सम्भावना हुँदाहुँदै पनि युवाहरु खाडी जान बाध्य भएको उल्लेख गर्नुभयो ।
प्रदेश पाँच संसदीय दलका सचिव भोजप्रसाद श्रेष्ठले प्रदेश पाँचको अस्थायी मुकाम बुटवल तोकेकामा काँग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिँदै मुलुकको समृद्धिको अभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा लोक गायिका मन छन्त्याल, साहित्यकार जंगबहादुर शाह, बाँकेका पत्रकार पन्नालाल गुप्ता, खेल प्रशिक्षक (लन टेनिस) बिकास खड्का, सोही टेलिभिजनका कर्मचारीहरु भैरहवा सम्वाददाता राधेश्याम विश्वकर्मा, कार्यक्रम प्रस्तोता सीता थापालाई सम्मान गरिएको थियो ।
टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, टेलिभिजनका उपाध्यक्ष ओम ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।