सवारी चलाउन चालकलाई आग्रह : गाडी नचल्दा पेट्रोलियम पदार्थको अभाव

1.3K

सवारी चलाउन चालकलाई आग्रह : गाडी नचल्दा पेट्रोलियम पदार्थको अभाव

बुटवल, ४ असोज । सार्वजनिक यातायात मजदुरहरुले विगत तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाड नजिएको समयमा गाडी बन्द गरिदा सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । नयाँ मुलुकी संहितामा सजायँको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका कारण देशभर गाडी नचलेका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।

यात्रुवाहक गाडी नचलेपछि सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् । बुटवलका सडकमा मोटरसाईकल सहित निजी सवारी र तीन पाँग्रे ई–रिक्सा मात्र चलेका देखिन्छन् । सधैं व्यस्त रहने पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ, बुटवल कृष्णनगर र सिद्धार्थ राजमार्ग सडक खण्ड तीन दिन देखि सुनसान छन् । यातायात मजदुरहरुले ठाउंठाउंमा संचालनमा रहेका गाडीहरुलाई रोक्ने गरेको समेत समाचार छ ।

सार्वजनिक यातायात मजदुरहरुले गाडी नचलाएपछि अधिकांश ब्यवसायीले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्काएका छन् । गाडी नचलेपछि गन्तव्यमा जान चाहने यात्रुहरु ठाउंठाउंमा अलपत्र परेका छन् ।यसैविच विहिवार रुपन्देहीमा संचालित यातायात ब्यवसायी संघ संस्था, मजदुर संगठनका अगुवा र स्थानीय प्रहरी प्रशासनले सवारी चलाउन मजदुरहरुलाई आग्रह गरेका छन् । बुटवलको नयाँ वसपार्कमा एक भेलाको आयोजना गरी विगत तीन दिन देखि सार्वजनिक सवारी नचलाई आन्दोलित भएका मजदुरहरुलाई शान्ति सुरक्षाको पुर्ण प्रत्याभूति सहित आकस्मिक रुपमा हुने दुर्घटनामा चालकलाई नियतवस नफसाउने प्रतिवद्धता जनाएका छन् ।

भेलामा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिलवहादुर मल्ल, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जीवन बन्जाडे, मजदुर नेताहरु कुमार थापा, नरवहादुर रजाली, कृष्ण कँडेल, प्रेम घिसिङ्ग लगायतले बोल्दै निर्धक्कसाथ सवारी चलाउन सार्वजनिक यातायात मजदुरहरुलाई आग्रह गर्नुभएको छ । तर सार्वजनिक यातायात मजदुरहरुले भने अहिले कार्यान्वयनमा आएको नयाँ मुलुकी संहिता संशोधन नभएसम्म सवारी साधन नचलाउने बताउंदै आएका छन् । अत्यावश्यक सवारी साधनमा हड्ताल भइरहँदा समेत सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।

यता चालकहरूको आन्दोलन संगै रुपन्देही सहित देशका प्रमुख शहरहरुमा पेट्रोलियम पदार्थको अभाव भएको छ । मुलुकी संहितामा सवारी चालकहरूका लागि ल्याइएको प्रावधानको विरोध गर्दै चालकहरू आन्दोलनमा उत्रिएर गाडी नचलाएपछि पेट्रोलियम पदार्थको अभाव सुरु भएको हो । चालकहरु आन्दोलनमा उत्रिएपछि रुपन्देही सहित बिभिन्न जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ । अधिकांश पेट्रोल पम्पमा व्यवसायीले मौज्दात सकिएको भन्दै पम्प छोपेका छन् । सार्बजनिक सवारी साधन नचलेकाले डिजलको त्यत्तिधेरै अभाव नभएपनि पेट्रोलको अभाव धेरै छ ।

रुपन्देहीका अधिकांश पम्पमा पेट्रोल छैन । पेट्रोलियम पदार्थको अभाव सुरु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विहिवार सिद्धार्थ यातायात, पश्चिम नेपाल बस व्यबसायी संघ, ट्याङ्कर व्यबसायी संघ, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका प्रतिनीधि र बिभिन्न मजदुर संगठनका नेताहरुको बैठक बसेको थियो । बैठकमा मजदुर नेताहरुले अत्यावश्यकीय बस्तु पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने प्रतिवद्धता जनाएका थिए ।

मजदुर नेताहरुले प्रतिवद्धता जनाएकाले विहिवार सांझवाटै पेट्रोलको ढुवानी सुरु हुने नेपाल आयल निगम भलवारी डिपोका प्रमुख सुरज शाहले जानकारी दिनु भयो । उहाले सकेसम्म विहिवार सांझ र नभए शुक्रवार बिहानदेखि पेट्रोलको सहज आपुर्ति हुने बताउनु भयो । पश्चिामाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका कार्यबाहक अध्यक्ष हिमाल गैरेले रुपन्देही सहित यस क्षेत्रका अन्य जिल्लामा डिजलको समस्या नभएको तर पेट्रोलको समस्या विहिवारको सहमति कार्यान्वयन भएमा शुक्रवारबाट सहज हुने जानकारी दिनुभयो ।