काठमाडौँ, /यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई, गोरु र गोवद्र्धन पूजा गरी मनाइएको छ । नेवार समुदायका मानिसहरूले भने आज म्हः (आत्म) पूजा गरी मनाएका छन् ।
गाई, गोरु, गोवद्र्धनका साथै आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तीनै लोक स्वर्ग, मत्र्य र पातालमा शासन गर्ने विश्वास गरिने बली राजाको समेत पूजा गर्ने प्रचलन छ ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरूमा अचुक औषधिका रुपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताउनुभयो ।
आजैका दिन कृषि कार्य गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मिठो मीठो खान दिने गरिन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलतिहारसमेत भन्ने गरिन्छ । आजैका दिन बेलुकी घर घरमा देऊ शुभ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेपाल संवत अनुसारको नयाँ वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी नेपालभर मनाइएको छ । यो पर्व विशेषगरी नेवार समुदायका मानिसहरूले न्हुँ दया भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामना भनी झाँकीसहित सडक परिक्रमा गरेर मनाएका छन् । रासस