तेजाव र छुरा प्रहार गरिएकी युवतीको अवस्था गम्भीर

1.3K

तेजाव र छुरा प्रहार गरिएकी युवतीको अवस्था गम्भीर

नवलपरासी, ९ असोज । पूर्वी नवलपरासीमा विवाह गर्न नमानेको भन्दै एक जना युवती माथि तेजाव र छुरा प्रहार भएको छ । कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारिलो हतियार प्रहार गरेका हुन् ।

परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय खले विक भन्ने विमल सिर्पालीले तेजाब छर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा हुन् । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका सिर्पालीले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताउनुभयो । विदेशमा रहेका सिर्पाली निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ । प्रहरीका अनुसार परियारसँगको सम्बन्धका कारण सिर्पालीकी श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएकी छिन् । माइतमा बस्दै आएकी श्रीमतीको चार वर्षको बच्चा रहेको छ ।

यता घाइते परियारको पनि ११ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ । प्रहरीलाई सिर्पालीले दिएको बयानअनुसार विदेशमा रहेका परियारका श्रीमान् फर्किएलगत्तै सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि यो घटना भएको हो । तेजाव र छुरा प्रहारबाट परियार गम्भीर घाइते भएकी छिन् । उनको चितवन भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालमा राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो । उनको पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरिएको छ ।

अस्पतालका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको, छातीमा करङ छेडिएको र दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । परियारको अनुहार, घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । परियारलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ भने अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।