स्थानीय तहले आवधिक योजना बनाएर काम गर्नृपर्छ : मुख्यमन्त्री पोखरेल

416

स्थानीय तहले आवधिक योजना बनाएर काम गर्नृपर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल, असोज । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश नम्बर पांचको प्रथम अधिवेशन सोमबारदेखि बुटवलमा शुरु भएको छ । दुई दिनसम्म चल्ने प्रदेश स्तरीय अधिवेशनको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना बनाएर कामगर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । उहाँले जनताको जीवन स्तरलाई उकास्ने गरी योजना बनाएर काम गर्नुपर्ने बताउदै योजना विना काम नगर्न स्थानीय जनप्रतिनिधीलाई निर्देशन दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कृषि र पशुजन्य उत्पादनमा कर नलगाएको बताउँदै विगतको स्थानीय निकायको मानसिकताबाट माथि उठेर काम गर्न पनि आग्रह गर्नुभयो । किसानहरुलाई कर लगाए कृषि र पशु उत्पादनको आयतमा ठूलो रकम बाहिरिने बताउदै उहाँले किसानलाई उत्साहित गर्नुपर्ने र त्यसका लागि किसानले उत्पादन गरेका कृषि र पशुजन्य उत्पादनको लागि वजार व्यवस्थापन गरिर्दिनु पर्ने मुख्यमन्त्री पोखरेलले धारणा राख्नु भयो ।

संघीय, प्रदेश र स्थानीय सरकारको काम कर्तव्य र अधिकार संविधानको अनुसूचीले छुट्टाएकाले विवाद गर्नुपर्ने कूनै कारण नभएको बताउँदै उहाँले संविधानका अनुसूची अनुसार काम गरिएमा संघीयता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँंणले सेवासुविधा र अधिकार दिएर स्थानीय सरकारलाई बलियो बनाउनु पर्ने बताउनु भयो । जनताले सरकार भनेर स्थानीय सरकारलाई बुझेको उल्लेख गर्दै स्थानीय जनप्रतिनिधिलाई काम गर्न ठूलो चुनौती भएको बताउदै उहाँले स्थानीय सरकारका जनप्रतिनिधिहरु जनताप्रति बढी जवाफदेही हुनुपर्ने भएकाले कामगर्न अफठ्यारो भएपनि जनताको काममा लाग्न आग्रह गर्नुभयो ।

जनताको आम्दानी घटेको र करको बोझ बढेको छ भन्दै नेता खाँणले जनताको आम्दानी बढाएर मात्र करको दायारा बढाउनु पर्ने उल्लेख गर्नुभयो । द्वन्द्वलाई व्यवस्थापन गर्न र स्थायी शान्ति कायम गर्नका लागि स्थानीय सरकारका जनप्रतिनिधिले संघीय र प्रदेश सरकारलाई सुझाव दिनुपर्ने बताउनु भयो । जनतालाई चित्त बुझाउन संघीय लोकतान्त्रिक गणतन्त्र ल्याईएको बताउंदै उहाँले संघीयता फेल भए नागरिकले अर्को समस्या भोग्नुपर्ने बताउनु भयो ।

गाउंपालिका राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठले संविधानले विभेद गरेपनि स्थानीय सरकारलाई जनताले सम्मान गरेको बताउनु भयो । उहाँले संघीय सरकार र प्रदश सरकारबीच ऐन नियम बाझिंदा स्थानीय सरकारलाई समस्या भएको बताउनु भयो ।
गाउंपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर पांच तदर्थ समितिका संयोजक मधुकृष्ण पन्तले स्थानीय तहको लागि पहिलो वर्ष सिकाईको वर्ष भएको बताउनु भयो ।

महासंघका महासचिव बशंलाल तामाङ, सल्लाहकार नारायण कोईरालाले स्थानीय सरकारलाई अधिकारबाट विमुख गराउन नहुने बताउनु भयो ।कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नजिर मियां, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, नयां शक्ति नेपालका छन्द पन्थी, संघीय लोतान्त्रिक फोरमका अशोक यादव, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, पूर्व सचिव वालानन्द पौडेल लगायतले संघियताकोसफलताका लागि जनप्रतिनिधीहरु आस्था भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

मङगलवार सम्म चल्ने अधिवेशनले नेतृत्व चयन गर्ने र बुटवल घोषणा पत्र जारी गर्ने गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश तदर्थ समितिका सहसचिव विष्णुकुमार गिरीले जानकारी दिनुभयो । अधिवेशनमा प्रदेश पाँचका ७३ गाउंपालिकाका २ सय ९२ जना जनप्रतिनिधिको सहभागिता रहेको छ ।