बाबुराम भट्टराई समूहले राष्ट्रियभेला मंसिर ४ मा गर्ने

544

बाबुराम भट्टराई समूहले राष्ट्रियभेला मंसिर ४ मा गर्ने

baburam

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समूहका नेताहरुले नयाँ शक्ति निर्माणका लागि आगामी मंसिर ४ मा काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएका छन् ।देशभरका प्रतिनिधिहरु सहभागी हुने भेलाले नयाँ शक्ति निर्माण अभियान समिति बनाउने बताइएको छ । डा. भट्टराई समर्थक नेताहरुले डा. भट्टराईलाई नै आयोजक समितिको प्रमुख बनाउने तयारी गरेका छन् ।

अहिले देशभरमा नयाँ शक्ति निर्माण अभियान जिल्ला समितिहरु बनिरहेका छन् । यसका लागि सातै प्रदेशमा संयोजक तोकेर नेताहरुलाई खटाइएको छ । प्रदेश नम्बर १ मा पूर्व सभासद लीला भण्डारी, २ मा रामचन्द्र झा, ३ मा गंगा श्रेष्ठ, ४ मा वामदेव क्षेत्री, ५ मा देवेन्द्र पराजुली र ७ नम्बर प्रदेशमा नवराज सुवेदी खटिएका छन् ।केही जिल्लामा डा. भट्टराई आफैं पुगेका छन् भने केहीमा प्रदेश इन्चार्ज तथा केहीमा केन्द्रीय स्तरका नेताहरुको सहभागितामा भेला भएको छ ।नेताहरुका अनुसार यस्ता भेलाहरुमा सहभागीहरुले पार्टी परित्यागको घोषणा गर्ने, नयाँ शक्ति निर्माण अभियान जिल्ला समिति बनाउने र कार्यालय खोल्ने काम गरिरहेको छ ।पार्टीबाट राजीनामा दिएपछि एमाओवादी नेता देवेन्द्र पौडेलले झापा, मोरङ, सुनसरी लगायतका जिल्लाको भ्रमण गरेका छन् ।

 भेलाको रणनीति

जिल्ला भेलाहरु सकिएपछि मंसिर ४ मा काठमाडौंमा राष्ट्रिय भेला तथा प्रशिक्षण हुनेछ । यसमा प्रत्येक जिल्लाबाट १० जनाका दरले प्रतिनिधि पठाउन भनिएको अभियानमा संलग्न एक नेताले अनलाइनखबरलाई बताए । भेलाले डा. भट्टराईको पार्टी भने घोषणा गर्ने छैन । नेता रामकुमार शर्माका अनुसार नयाँ शक्ति निर्माण आभियान समिति भने गठन गरिने छ ।

यो समिति गठनपछि अभियानमा संलग्न नेताहरु देश दौडाहमा लाग्नेछन् । नगरपालिका, गाउँ कमिटीदेखि बुद्धिजिवी, आदिवासी जनजाति, महिला, विद्यार्थी लगायतका सात भ्रातृ संगठनहरुसमेत गठन हुनेछन् ।यहीवीचमा अन्य दलका नेता कार्यकर्तालाई नयाँ शक्ति निर्माणमा सहभागी गराउन वार्ता र सम्वाद हुनेछ । कांग्रेस, एमालेसहितका दलहरुका नेता कार्यकर्तादेखि पूर्वप्रशासक, नागरिक समाजका अगुवा र उद्योगी व्यवसायीहरुलाई समेत यसमा सामेल गरिनेछ ।

‘पार्टी घोषणा अझै डेढ/दुई महिना लाग्छ । ५० हजार भन्दा बढीको सहभागितामा आमसभा गरेर नै हामी नयाँ पार्टी घोषणा गर्छौं’ नयाँ शक्ति निर्माण अभियानमा संलग्न एक नेताले भनेका छन् । यद्यपि यसबारे अहिले ठोस कार्यक्रम बनिसकेको छैन ।

सांसदहरु  नजाने

एमाओवादीका पूर्ववरिष्ठ नेता डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माण अभियानमा तत्काल सांसदहरु भने नजाने भएका छन् ।एमाओवादीका ४५ जना केन्द्रीय नेताले राजीनामा दिँदा पनि बहालवाला सांसदहरु सहभागी भएनन् । भट्टराई एमाओवादीमा रहँदा उनको पक्षमा टोपबहादुर रायमाझी, प्रभु साहसहितका ४५ सांसद थिए ।तर, रायमाझी अहिले भट्टराईको पक्षमा छैनन् । उनी सरकारमा पार्टीको नेतृत्व गरेर उपप्रधान एवं उर्जामन्त्री बनेका छन् र उनले सार्वजनिक रुपमा नै भट्टराईको नयाँ शक्ति सफल नहुने दाबी गरेका छन् ।प्रभु साहसहितका अन्य सांसद भने अहिले पनि भट्टराईको सम्पर्कमा नै रहेको बताइन्छ । तर, उनीहरुले तत्काल राजीनामा नदिने र एमाओवादीमा नै रहने स्रोतले बतायो ।

यसैवीच बाबुरामले बनाउने नयाँ शक्तिमा सामेल हुन लागेका देशैभरिका गैरमाओवादी समूहहरु भने डा. भट्टराईले लिने आगामी नीति र कार्यदिशाबारे चासो दिइरहेका छन् ।

स्रोतका अनुसार अब बन्ने नयाँ पार्टीको नाम ‘कम्युनिष्ट’ राख्न नहुने तथा मार्क्सवाद लेनिनवाद र माओवाद हटाउनुपर्नेका गैर माओवादी कित्ताबाट डा. भट्टराईलाई सुझाव आइरहेको छ ।