बुटवल,असोज । संघीय सरकारका उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिकाप्रसाद यादवले उद्योगी व्यवसायीको हित विना देश विकास संभव नभएकोले तिनै तहका सरकारले उद्योग स्थापनामा ध्यान दिन जरुरी रहेको बताउनु भएको छ ।
मन्त्री यादवले उद्योगी व्यवसायीहरुले भने जस्तो लगानी मैत्री वातावरण बनाउनको लागि अहिलेको सरकार लागिपरेको समेत बताउनु भयो ।
रुपन्देही उद्योग संघको ४० औ बार्षिक साधारण सभाको शनिवार बुटवलमा उदघाटन गर्दै मन्त्री यादवले मुलुकमा लगानी मैत्री वातावरण बनाउने र व्यवसायीहरुले उद्योगमा गरेको लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताउनु भयो । मन्त्री यादवले लगानी मैत्री वातावरण भएन, उद्योग खोल्ने स्थान अभाव भयो, व्यवसायी मैत्री उद्योग नीति आएन भनेर हल्ला नगर्न ब्यवसायीहरुलाई आग्रह गर्दै व्यवसायीहरुले चाहे जस्तो नीति वनाउन आफु तयार रहेको बताउनु भयो ।
उहाँले भन्नु भयोे–‘नीति कस्तो चाहिन्छ, के चाहिन्छ, भन्नुहोस, तपाईहरुले चाहे जस्तो नीति लिएर लिएर आउनहोस, म त्यसमा हस्ताक्षर गर्न तयार छु ।’उहाँले संघीयताको अभ्यासको सुरुवाती चरणमा उद्योगी व्यवसायीहरुबाट आएको करको कुरा जायज भएको भन्दै कर उठाएर त्यसको सहि रुपमा सदुपयोग हुनेमा सरकार ढुक्क भएको बताउनु भयो् । काठमाण्डौमा भएका उद्योगलाई नीजिकरण गरेर बुटवल लगायतका आसपासका क्षेत्रमा ल्याउने र त्यहाँबाट भारत तर्फ उद्योग नै विक्री गरेर देशमा समृद्धि हासिल नहुने मन्त्री यादवको तर्क थियो ।
प्रदेश नम्बर ५का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकार उद्योग मैत्री नीति बनाउने तयारीमा रहेको भन्दै यसमा नीजि क्षेत्र संगको हातेमालो आवश्यक रहेको बताउनु भयो ।मन्त्री गिरीले प्रदेश समृद्ध भएमा मात्रै देश समृद्ध हुने भन्दै यसमा प्रदेश सरकार गम्भिर भएको बताउनु भयो । उहाँले किसान मैत्री नीति, कृषिमा आधारित उद्योग धन्दाको विकास गरी प्रदेश समृद्धिको खाका तयार पारिएको बताउँदै कृषि जन्य बस्तु आयात प्रतिष्थापनको पक्षमा प्रदेश सरकारले कार्य अगाडी बढाएको बताउनु भयो ।
प्रदेश सरकार ५ नम्बर का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले उद्योगी व्यवासयीहरुले जग्गा अभावमा उद्योग स्थापना गर्न नसकिने भन्ने गुनासो अव आउन नदिने बताउनु भयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष हरिभक्त शर्माले नेपाल समृद्ध देश बनाउनको लागि लगानी मैत्री वातावरण आवश्यक रहेको बताउनु भयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षतामा भएकोकार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, पुष्पा थरुनी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सिएनआई प्रदेश ५ संयोजक एजाज आलम, नेकपा जिल्ला कार्यदल सदस्य निर्मल जिसी, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष दान बहादुर केसी, चितवन उद्योग संघका अध्यक्ष तिलाचन पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका का.वा अध्यक्ष दिनेश पाण्डे, संघका महासचिव कृष्ण प्रसाद पराजुली लगायतले उद्योग व्यवसाय गर्ने वातावरण निर्माणका लागि संघ तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।