बुटवल, ९ कात्तिक । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसर पारेर नेपाल तरुण दल रुपन्देही क्षेत्र नं. २ क्षेत्रीय समितिले रक्तदान कार्यक्रम गरेको हो ।
तरुण दल स्थापना भएको ६५ वर्ष पुरा भएको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ६५ जनाले रक्तदान गरेको क्षेत्रीय सभापति हसन्त लामाले बताउनु भयो । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले अवको १० वर्षमा सन्सारको कुनै पनि मुलुकमा कम्युनिष्ट शासन व्यबस्था अन्त्य हुने दावी गर्नुभयो ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावादलाई मार्ग प्रसस्त गर्ने काममा गरेको बताउँदै अहिलेको बिज्ञान र प्रविधिको युगमा सर्वसत्ताबाद कुनै पनि मुलुकमा टिक्न नसक्ने बताउनु भयो । पूर्व मन्त्री समेत रहने भएका काँग्रेस नेता खाँणले स्वतन्त्रता र समानताको अंगाडी कम्युनिष्ट शासन चल्न नसक्ने बताउँदै नागरिकको स्वतन्त्रता र समानताकालागि लोकतान्त्रिक शासन व्यबस्था आवश्यक रहेको बताउनु भयो ।
प्रधामन्त्रीको अभिव्यक्ति र प्रथा राजा महाराजकै पथमा दशैंको टिका लगाउने, जनतालाई रैती सहर व्यबहार गरेर घँडा टेकाउने प्रकृत्तिले राष्ट्रपति तथा प्रधानमन्त्री सर्वसत्तावादको चिन्तनबाट अभिप्रेरित भएको दावी गर्नुभयो । यद्यपी नेपालको संविधानमै नागरिकको मौलिक अधिकार सुनिश्चित भएकाले यो सरकारले संविधान लत्याउन पनि नसक्ने र जनतालाई तिरिस्कृत गर्न पनि नसक्ने उहाँको भनाई छ । उहाँले अहिले पार्टीलाई अफ्ठ्यारो पर्यो भनेर पार्टीका नेता कार्यकर्तालाई हतोत्साहित नहुन पनि आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल तरुण दल क्षेत्र नं. २ का सभापति हसन्त लामाको अध्यक्षता, उपसभापति श्यामप्रसाद अधिकारीको स्वागत तथा कृष्ण भण्डारीको सञ्चालनमा भएको थियो ।